[दसैँ विशेष]     दुर्गा प्रतिमा  

 

अमूर्तलाई रूपबिम्बमा कल्पना गर्दा मूर्ति हुन्छ। शिल्पकारले अमूर्त अदृश्य गुणलाई मूर्त रूप दिन मूर्ति बनाउँदछन्। चित्र पनि मूर्ति नै हो किनभने त्यहाँ पनि अमूर्तलाई मूर्त रूप दिइएको हुँदछ। अक्षर र लिपि पनि मूर्ति नै हुन् पनि भनिन्छ। भारतमा मूर्तिकलाको पुरानो इतिहास छ। कलाकृतिबारे भारतमा शास्त्र पनि बनिएका छन् – मूर्तिशास्त्र वा प्रतिमाशास्त्र। प्राणप्रतिष्ठा गरिएका मूर्ति अर्थात् पूजा गरिने मूर्तिलाई प्रतिमा भनिने गरिन्छ। एउटा मूर्ति हेरेर त्यस्तै अर्को मूर्ति बनाइए त्यो प्रतिमूर्ति हुँदछ। ‘मूर्ति’ शब्द व्यक्तिविशेष अथवा पदार्थविशेषको प्रतिकृति, बिम्ब अथवा आकृतिको बोधक हुँदछ; अपितु प्रतिमाको तात्पर्य भक्तिभावनाले भावित देवविशेषको मूर्ति अथवा देवभावनाले अनुप्राणित पदार्थविशेषको प्रतिकृति हुँदछ।

बुद्धले मूर्तिपूजा मानेनन् तर संसारमा सबैभन्दा धेर बुद्धकै प्रतिमा बनिए। बुद्धले आफूमा विश्वास राखे प्रत्येक मान्छे बुद्ध बन्न सक्दछ भन्दथे। मान्छेमा मूर्तिले मोह बढाइदिने अनि मूर्तिको देवतालाई विश्वास गर्न थालेर आफूमा विश्वास नगर्ने हुने दर्शन बुद्धले प्रचार गरेका थिए।  स्थिरवादी बौद्ध र निर्गुण सम्प्रदायको वैचारिक स्तरमा पुग्न गाह्रो हुनेलाई मूर्ति नै चाहिने कुरा इतिहासले प्रमाण गर्दछ। आ-आफ्ना देवतादेवी लिएर बौद्ध बनेका महायानीहरूले बुद्धलाई प्रतिमा बनाएरै पुज्ने भए। पहिलो शताब्दीका कुषाण राजाहरूले गन्धार र मथुरा कलाको परम्परै बसालिदिए। निर्गुणीहरू ईश्वरको रूप हुँदैन भन्ने भए। सगुणीहरू ईश्वर मानव रूपमा मूर्तिमान् हुने माने। उनीहरू मूर्तिबाट अमूर्तमा पुग्ने अर्थात् प्रतिमाबाटै अप्रतिमलाई भेट्नसकिनेमा विश्वास गरे।

अचेतहरूले मूर्ति वा प्रतिमालाई के कारणले शालिक वा सालिक वा सालिग भने कुन्नि! उता उनीहरू हिँड़्नेलाई सालिक भने, अधकल्चो सिको गरी यता नहिँड़्ने मूर्तिलाई पो सालिक भने। यसकारण हाम्रा मूर्तिलाई सालिक भन्नु हुँदैन

हामीसित मूर्ति र प्रतिमाजस्ता अर्थपूर्ण शब्द हुँदाहुँदै अचेल अचेतहरूले ‘शालिक’ पनि भन्नथालेका छन्। शालिक शब्द हाम्रो होइन। यो त अरबी शब्द हो। अरबी परम्परामा वा अब्राह्ममेली धर्म परम्परा (जुडा, इसाइ र इस्लाम)-मा मूर्तिपूजा छँदैछैन। उनीहरूको भौगोलिक परिस्थितिले पनि मूर्ति बनाउने अवसरै पाएनन्। त्यो मरुभूमि देश हो। बालुवैबालुवा भएको ठाउँमा केले मूर्ति बनाउने? मृतदेह जलाउने दाउरा नहुनाले गाड्ने गरे। तर हाम्रा किरातहरूले मृतदेह गाड़ेका कारण रुख जोगाउनलाई हो। अरबमा रुख भएका भए पो काष्ठमूर्ति बनाउँथे, पायक परेका ढुङ्गा भए पो प्रस्तरप्रतिमा बनाउँथे, माटो भए पो मृणमूर्ति बनाउँदथे। अरबको दक्षिणपट्टिका रुगरुगे पुड्के पहाड़का चट्टाने ढुङ्गाले बनिएका घरमा बालुवा प्रविधि प्रयोग गरी ५०० इसापूर्वदेखि बुट्टा हालेका प्रमाणचाहिँ छन्। कष्टले जोहो गरेका काठले नाउ बनाउँदथे। हरियाली नहुनाले हरियो रङ्गको तृष्णा उनीहरूमा अधिक हुन्छ। सातौँ शताब्दीदेखि इस्लामको उदयपछि त उनीहरूको धार्मिक रङ्ग नै हरियो भयो।

अरबीहरूले साधु वा उनीहरूका फकीरलाई शालिक भन्दथे। चरालाई पनि शालिक भन्छन्। अरबीमा ‘सालिक’ भनेको बाटोमा हिँड़्ने बटुवा वा पथिक वा यात्री हो। चरा पनि उड़्ने हुनाले शालिक भने। ‘सालिग’ त झन् सार्थक शब्द पनि होइन, निरर्थक शब्द हो। अचेतहरूले मूर्ति वा प्रतिमालाई के कारणले शालिक वा सालिक वा सालिग भने कुन्नि! उता उनीहरू हिँड़्नेलाई सालिक भने, अधकल्चो सिको गरी यता नहिँड़्ने मूर्तिलाई पो सालिक भने। यसकारण हाम्रा मूर्तिलाई सालिक भन्नु हुँदैन।

मूर्ति वा प्रतिमाका शास्त्र भएजस्तै शालिक वा सालिक वा सालिग-का शास्त्र छैनन्। शास्त्र जानेर श्रम र शिल्प लाएर बनाएका हाम्रा मूर्तिलाई सालिक वा शालिक भन्नु त शिल्पीलाई अनादर गर्नु हो। नबुझीकन अर्काका कुरा लिएर आफ्ना कुरा बिर्सनु दास प्रवृत्ति हो। अर्कालाई स्वामी स्विकारेर उसको उपनिवेश कृतिको अन्ध अनुकृति गर्नाले लाभ हुँदैन । हाम्रा किङ्कर मनोवृत्तिमा सुधार आउनु पर्दछ। वर्तमान दार्जीलिङको राजनीति आन्तरिक उपनिवेशको खाड़लमा पसे पनि संस्कृतिलाई चाहिँ जोगाऔँ

दसैँको छेकमा भगवती दुर्गाकै प्रतिमाबारे कुरा गरौँ। नौ दिने नौरथामा नौ प्रकारकै दुर्गाका प्रतिमालाई पूजा गर्ने चलन छ। ‘दुर्गा सप्तशती’ ग्रन्थमा देवी कवच स्तोत्र छ, जहाँ निम्नाङ्कित श्लोकमा नवदुर्गाका नाम क्रमश: यसरी दिइएको पाइन्छ –

प्रथमं शैलपुत्री च द्वितीयं ब्रह्मचारिणी।

तृतीयं चन्द्रघण्टेति कूष्माण्डेति चतुर्थकम् ।।

पञ्चमं स्कन्दमातेति षष्ठं कात्यायनीति च।

सप्तमं कालरात्रीति महागौरीति चाष्टमम् ।।

नवमं सिद्धिदात्री च नवदुर्गा: प्रकीर्तिता:।

उक्तान्येतानि नामानि ब्रह्मणैव महात्मना ।।

श्लोकमा भनिएको भगवतीका नौवटा नाम यी हुन्  – शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कूष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिदात्री। यीबाहेक कविहरूले दुर्गाका पर्यायवाची थुप्रै बनाएका छन् – आदिशक्ति, भवानी,  कालिका, अजा, चण्डी, चण्डिका, चन्द्रिका, कल्याणी, काली, चामुण्डा, सिंहवाहिनी, कामाक्षी, महागौरी, सुभद्रा, जगदम्बा, अम्बिका, रुद्राणी, उमा, अपर्णा, जया, माहेश्वरी, वाराही, परमेश्वरी, तपस्विनी, सावित्री, नारायणी, भद्रकाली आदि।

शक्ति त देखिदैँन तर मान्छेलाई नदेखाई विश्वासै जाग्दैन भनेर पुराणले अमूर्तलाई मूर्त बनाइदियो। नौवटा रूप भए पनि सर्वमान्य एकरूपका प्रतीयमान अर्थ छन् –

दुर्गादेवीका वा १० हात ८ वा १० दिशा हुन् – पूर्व, पश्चिम, उत्तर, दक्षिण, ईशान (N-E), आग्नेय (S-E), वायव्य (N-W), नैऋत्य (S-W), आकाश र पाताल। दसै दिशाबाट बाहुबलले रक्षा गर्ने।

त्र्यम्बके अर्थात तीनवटा आँखा भएकी दुर्गालाई त्रिकालदर्शी अर्थात भूत-वर्तामान-भविष्य देख्ने मानिन्छ। देब्रे आँखो जून (चाहना) (शीतलता), दाहिने आँखो घाम (कर्म-तातो-न्यानो) र निधारको आँखो आगो (ज्ञान-ज्वाला : ज्ञानका घमण्डीलाई जलाउने पनि) हुन्। वाहन सिंह शक्ति (Power)-इच्छा(Will)-सङ्कल्प/निश्चय (Determination)-को प्रतीक हो। सिंहलाई तह लाउनु र सिंहमा चढनु शक्ति-इच्छा-सङ्कल्पमाथि नियन्त्रण राख्नु हो। पशुराज हुँ भनी सेखी गर्ने सिंहमा राज गर्नु अहङ्कारलाई सदाएर राख्नु हो। दुर्गाका श्रद्धालुले पनि आफूसँग भएको घमण्डलाई वशमा राख्नुपर्दछ।

हातमा भएको शङ्खले शब्दब्रह्मलाई इङिगत गर्दछ। शङ्खध्वनिलाई ॐ अर्थात् प्रणव मन्त्रको प्रतीक मानिन्छ। हातमा भएको वज्र वचनबद्धता/दृढता (Firmness)-को प्रतीक मानिन्छ। चटयाङ जहाँ लाग्छ त्यहीँ चोट लाग्दछ। आफ्नो आँटलाई नमारी शत्रुलाई चटयाङले आघात पारेको दृष्टान्त लिनुपर्दछ भन्ने मान्यता छ। हिलैमा हुर्कै पनि कमल हिलोदेखि भिन्नै रहँदछ। हिलोमा फुल्ने हुनाले कमललाई पङ्कज भनिएको हो। संसारमै रहेर पनि सांसारिक विषयदेखि मुक्त हुन् भनिएको हो। देवीको हातको चोर औँलीमा सुदर्शन चक्र (beautiful discus) छ। औँलीमै भएर पनि औँलीमा छोइएको छैन। यो शस्त्र अचुक छ। यो सृष्टि चक्र हो। जगत् देवीकै परियोजनामा र निर्देशनमा परिचालन हुँदछ भन्ने सङ्केत हो। एउटा हातमा रहेको तरवार ज्ञानको प्रतीक हो। टल्केको धारले सम्यक् ज्ञान अर्थात् आशङ्कारहित ज्ञान सङ्केत गर्दछ।

हातको त्रिशुललाई सत्व (inactivity), रज (activity) र तम (non-activity) गुणका प्रतीक मानिन्छ। तीनवटा राप (miseries) – आधिभौतिक (physical), आधिदैविक (mental) र आध्यात्मिक (spiritual) राप (दुःख) निवारणको प्रतीक पनि त्रिशूललाई मानिन्छ। सिंहमाथि जगन्माता अभय मुद्रा (fearless)-मा बसेकी देखाइनु निर्भयताको सूचक हो। म जगत्‌की मुमा हुँ जगन्माता, भयमुक्त भई ममा भर परेर समर्पित हुनु भन्ने सन्देश दिइएको पाइन्छ। अब नौरथाबारे छोटोमा चर्चा गरौँ – नवदिवस (nine day) नभनेर नवरात्रि (nine nights) भनिन्छ। शिव पनि रात नै हो तमिस्रा। जो छैन र छैन (शून्य)-बाटै सृष्टि हुने प्रक्रिया शिव हो। आधुनिक विज्ञानले बुझेको ब्ल्याक होल सिद्धान्तले पनि शून्य वा भोइड वा ब्ल्याकलाई सृष्टि-स्थिति-प्रलयकारक मान्दछ। वास्तवमा कालो स्थायी हो। विश्व-ब्रहमाण्ड पनि कालो छ भनिन्छ। बत्ती वा उज्यालो अस्थायी हुने हुनाले प्रकाशलाई धेरै महत्त्व दिइन्छ। कालो रहिरहने हुनाले शिव भनिएको हो। शि भनेको शक्ति वा ऊर्जा हो। व (वाम, दाहिनेको पूरक देब्रे)-ले शक्तिलाई उन्मत हुनदेखि जोगाउँदछ। शिवको स्त्रीलिङ्गी शिवा (पार्वती) हो। यिनीहरू स्थायी हुनाले रातसित सहयोगी रहन्छन्। भूत जगत् सुत्दा पनि यी जाग्रत हुन्छन्। गीताले ‘या निशा सर्वभूतानां तस्यां जागतिं संयमी’ भनेझैँ। शिवमा शिवा पनि हुनुपर्छ, त्यो हो शक्ति इ, इ नभए शिव शव (मुर्दा) हुन्छ।

रातमा नै जगत्‌लाई दिन पनि दिने शक्ति यी हुन्छ भन्ने विज्ञानसम्मत धारणा तत्त्वदर्शनमा पाइन्छ। ऋग्वेदको उषासूक्तमा जनतालाई सताउने रातको प्रतीक सुरमा नहुने असुरो महिष (राँगो) अर्थात् महिषासुरलाई शक्तिले छिनाएको देखिने लालिमा राँगो छिन्दा निस्केका रगतका बाछिटा हुन्, यसरी दिन भयो भन्ने वर्णन छ। समाजमा बलिप्रथा पसेपछि साँच्चिकै राँगा काट्ने भए। वास्तवमा बलि भनेको व्यय वा त्याग हो।  जाति वा देशका लागि आफू बलि हुनेलाई हुतात्मा भनिन्छ, जस्तै हुतात्मा दुर्गा मल्ल, हुतात्मा दलबहादुर गिरी, हुतात्मा भगत सिंह आदि। ‘घोकन्ती विद्या धावन्ती खेती’ पनि बलि नै हो। शरीरका ऊर्जा, मनको रञ्जन बलि दिएर विद्या वा धन प्राप्त गरिन्छ। उज्यालो दिने सूर्यको शक्तिलाई उषा भनिएको हो। यसकारण वेदले उषालाई सूर्यकी प्रेमिका मानेको हो। सूर्यकी पत्नी सरण्यू। हुन ता यसका अतिरिक्त उषाका सम्बन्ध सूर्य र सरण्यूका जम्ल्याहा छोरा दुइ अश्विनीकुमारसित पनि देखाइएको छ। जेठा अश्विनीकुमार नासत्यकी पत्नी ज्योति र कान्छा अश्विनीकुमार दस्रकी पत्नी मायान्द्री। दुइ अश्विनीकुमार प्रभातका जम्ले देवता र आयुर्वेदका आदि आचार्य मानिन्छन्। उषाको शक्तिले गर्दा यिनीहरू देवताका चिकित्सक र कुमारीहरूका पति पनि मानिन्छन्। महाभारतमा नकुल र सहदेवलाई अश्विनीकुमारकै छोरा भनेको पाइन्छ। यी त उदाहरण मात्र हु । शक्तिबिना कुनै काम हुँदैन। शक्तिबिना शिवसमेत बेकामे हुन्छन् भनिन्छ। मार्कण्डेयपुराणले त्यसै समस्त देवताकी तेजोराशि देवी शक्ति भनेको होइन। कविहरूले सर्काउनु त पाएका! हुन पनि शक्तिलाई नसर्काएर धरै छैन।

वेद लेखिनुअघि त शक्तिकै पूजा हुन्थ्यो। प्रकृतिसम्पन्न भारतमा प्रकृति नै जननी, भगिनी, सङ्गिनी थिइन्। प्रकृतिले गर्दा समाज पनि मातृसत्तात्मक नै थियो। उजाड़ ठाउँमा उब्जेका धर्मदर्शन चाहिँ पुरुष सत्तात्मक हुन्छन्। मेर्लिन स्टोनको ‘जति बेला ईश्वर एउटी नारी थिइन्’ (When God Was a Woman) र त्यस्तै भगवती आन्दोलन (Goddess Movements)-का चिन्तकहरूका ग्रन्थ पढ्दामा थाहा लाग्दछ।  आर्यको आगमनले भारत ईश्वरको आज्ञाले काम गर्ने शक्ति कल्पित माया हो भन्ने भए। ब्रह्मले मायाकै सहायताले सृष्टिरचना गरेको कल्पना गरे। तर वेदले भन्नु बाध्य पर्यो – अनन्तरूपा तथा अनन्त-सामर्थ्य-सम्पन्ना। यही शक्ति जगत्-रूपमा व्यक्त र प्रलयकालमा समग्र चराचर जगत्‌लाई आफूमा विलीन गरेर अव्यक्तरूपेण स्थित रहने हो भने। गीतामा वर्णित योगमाया यही शक्ति हो  कृष्ण ‘योगमायामुवाश्रित:’ भएरै आफ्ना लीला गर्दछन्। राधा उनकी आह्वादिनी शक्ति हुन्। कथाले भन्दछ – शिव शक्तिहीन भएर केही गर्न सक्दैनथे। शक्तियुक्त शिवले नै जे गर्न पनि सक्दछन्। भारतीय दर्शनहरूमा पनि कुनै न कुनै नाम रूपबाट शक्तिको चर्चा भएकै पाइन्छ। पुराणहरूमा त झन् विभिन्न देवताहरूका विभिन्न शक्तिको कल्पना गरिएको छ। यिनै शक्तिहरूलाई देवीको रूपमा मूर्तिमती मानिएको छ। हाम्रा मूर्ति र प्रतिमा अर्थ्य (अर्ती) र अर्थ (तात्पर्य वा अभिप्राय)-ले युक्त हुन्छन्।

                                      ०००

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement