खरसाङ: खरसाङको वार्ड नम्बर २ मा रहेको टेकवीर बस्ती युउथको आयोजनामा आईतवार काइट फेस्टिवल सम्पन्न भएको छ। काइट फेस्टिवल अन्तर्गत बिहान प्रमुख अतिथिको रुपमा उपस्थित खरसाङको टेकवीर बस्तीको प्रगति गाउँ प्रगति संघको सचिव बीरबल पाख्रिन, युउथको सभापति प्रशान्त गुरुङ र प्रायोजकहरुका बाहुलीबाट बलुन उडाएर काइट फेस्टिवलको उदघाटन गरिएको छ। यस अवसरमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा टेकवीर बस्ती प्रशाखाको सभापति सुजय गुरुङ, सचिव नरेन लामा, युउथको सभापति प्रशान्त गुरुङ, सचिव सत्यम छेत्री, नारी शक्ति सभापति पुष्प गुरुङ, समाजका प्रतिनिधिहरु उपस्थित रहेका थिए। यस काइट फेस्टिवलको दोस्रो चरणमा गुड्डी उडाउने प्रतियोगिता सम्पन्न गरिएको छ। यस कार्यक्रमलाई युउथको सल्लाहकार समीर गुरुङले सञ्चालन गरेका थिए भने गुड्डी उडाउने प्रतियोगिताको नियम विषयमा सभापति प्रशान्त गुरुङले जानकारी गराएका थिए। यस प्रतियोगितामा जम्मा २१ जनाले सहभागिता जनाएका थिए। यस गुड्डी उडाउने प्रतियोगिताको निर्णायकको रुपमा प्रशान्त गुरुङ उपस्थित रहेका थिए। यस प्रतियोगिता अन्तर्गत तीनवटा पुरस्कारहरु राखिएको छ जसमा कसले अधिक समयसम्म गुड्डी उडाउने, सबैभन्दा बेसी अरुको गुड्डी कसले काट्ने र आकाशमा सबैभन्दा माथिसम्म कसले गुड्डी उडाउने रहेको थियो। यस अन्तर्गत अधिक समयसम्म गुड्डी उडाउनेमा सोयम तामाङले द लास्ट म्यान स्टान्डिङ्गको उपाधि पाएका छन्। त्यसरी नै सबैभन्दा बेसी अरुको गुड्डी कसले काट्नेमा काइट वारियर्सको उपाधि उदय राईले पाएका छन्। त्यसरी नै आकाशमा सबैभन्दा माथिसम्म कसले गुड्डी उडाउनेमा स्काई किङको उपाधि शुभम मंग्रातीले प्राप्त गरेका छन्। तीनैजनालाई प्रमुख अतिथिको रुपमा उपस्थित संघको सचिव वीरवल पाख्रिनको बाहुलीबाट प्रमाण पत्र र ट्रफी प्रदान गरिएको छ। गाउँ समाजमा गुड्डी उडाउने प्रथा विलुप्त हुँदै गएको कारणले यसलाई पुनर्जीवित गराउने र नानीहरु साथै युवाहरुलाई यसतर्फ आकर्षित गराउने उद्देश्यका साथमा यो काइट फेस्टिवल आयोजना गरिएको छ।

यस काइट फेस्टिवल विषयमा पत्रकारहरुसित कुराकानी गर्दै टेकवीर बस्तीको युउथको सभापति प्रशान्त गुरुङले खरसाङको टेकवीर बस्ती क्षेत्रमा कसैले नसोचेको कुरालाई युवाहरुले सोचेर गुड्डी उडाउने प्रतियोगिता आयोजना गरेर नयाँ कार्य गरेको बताएका छन्। उनले अहिले गाउँ ठाउँमा गुड्डी उडाउने खेल हराएर गएकोले हामीले उक्त प्रथालाई विलुप्त हुनदेखि जोगाउन साथै अहिलेका नानीहरु र युवाहरुमा पुनर्जीवित गराउन यो काइट फेस्टिवल आयोजना गरिएको जानकारी गराएका छन्। उनले यस काइट फेस्टिवलमा सहभागिता जनाउने र सहयोग गर्ने सबै प्रायोजकहरुप्रति आभार प्रकट गरेका छन्।









