भारतको निम्ति खेल्न चाहे घरेलु क्रिकेटमा खेल्नु अनिवार्य गरिँदा रोहित र कोहली चाँड़ै मैदानमा देखिने सम्भावना

मुम्बई: भारतीय क्रिकेट कण्ट्रोल बोर्ड (बीसीसीआई)-ले देशका दुई दिग्गज क्रिकेटर विराट कोहली र रोहित शर्माको निम्ति स्पष्ट सन्देश दिएको छ। बोर्डले यी दुईजनालाई भारतीय वनडे टीममा कायम रहनको निम्ति घरेलु वनडे टुर्नामेण्टहरूमा हिस्सा लिने सन्देश दिएको छ। यी दुईजना खेलाड़ीले टेस्ट र टी२० इण्टरनेशनल प्रारूपबाट सन्न्यास लिइसकेका छन् अनि अहिले केवल वनडे इण्टरनेशनल क्रिकेटमा मात्र सक्रिय छन्। यसैकारण घरेलु क्रिकेटको माध्यमले उनीहरूले आफ्नो फर्म र फिटनेसलाई कायम राखोस् भन्ने बोर्ड र टीम म्यानेजमेण्टको सोच रहेको छ। यस दिशामा पहिलो कदम २४ दिसम्बरदेखि शुरु हुने विजय हजारे ट्रफी वनडे टुर्नामेण्टको म्याच हुन सक्नेछ। दक्षिण अफ्रिकाविरुद्ध ३-देखि ९ दिसम्बरबीच हुने वनडे सीरीज र ११ जनवरीदेखि शुरु हुने न्यूजील्याण्डविरुद्ध सीरीजबीच घरेलु क्यालेण्डरमा एकमात्र वनडे म्याच हुनेछ। जानकारी अनुसार, रोहितले मुम्बई क्रिकेट संघ (एमसीए)-लाई उनी विजय हजारे ट्रफीको निम्ति उपलब्ध रहने सूचित गरेका छन्। यसबीच कोहलीको उपलब्धताबारे चाहिँ अहिलेसम्म कुनै स्पष्टता आएको छैन। बीसीसीआई-का एकजना वरिष्ठ अधिकारीले भनेका छन्, बोर्ड र टीम म्यानेजमेण्टले दुवैलाई भारतको निम्ति खेल्न चाहे घरेलु क्रिकेट पनि खेल्नु पर्ने स्पष्ट गरेको छ। उनीहरूले अन्य २ वटा प्रारूपबाट सन्न्यास लिएको हुनाले आफ्नो फिटनेस र फर्म कायम राख्न यस्तो गर्नु जरूरी छ। यसअघि चयन समितिका अध्यक्ष अजीत अगरकरले पनि गत महिना सीनियर खेलाड़ीहरूले घरेलु क्रिकेटमा भाग लिनु पर्ने विषयमा जोर दिएका थिए। उनले भनेका थिए, म्याचको निम्ति उपलब्ध रहँदा खेलाड़ीहरूले घरेलु क्रिकेट खेल्नु पर्नेछ। यस्तो गरेर उनीहरूले आफ्नो फर्म कायम राख्न सक्नेछन्। विशेषगरी इण्टरनेशनल क्रिकेटबाट लामो ब्रेक हुँदा यस्तो गर्नु आवश्यक छ।

पूर्व भारतीय कप्तान रोहितले २६ नोभेम्बरदेखि शुरु हुने सैयद मुश्ताक अली टी२० टुर्नामेण्टमा पनि हिस्सा लिने संकेत दिएका छन्। उनी गत केही समयदेखि शरद पवार इण्डोर एकाडमीमा अभ्यास गरिरहेका छन्। यसबीच कोहली चाहिँ लण्डन फर्किएका छन् अनि बोर्डलाई उनी चाँड़ै घरेलु सर्किटमा फर्किने आशा रहेको छ। यी दुईजना खेलाड़ीले गत सत्रमा १-१ वटा रणजी ट्रफी म्याच खेलेका थिए। जनवरीमा कोहलीले १२ सालपछि दिल्लीको निम्ति मैदान सम्हालेका थिए जबकि रोहितले १० सालपछि मुम्बईको निम्ति म्याच खेलेका थिए। चयन समितिका प्रमुख अजीत अगरकरले कोहली र रोहित कुनै ट्रायलमा नरहेको अगावै स्पष्ट गरिसकेका छन्। उनले भनेका छन्, दुवै खेलाड़ीले भारतीय क्रिकेटको निम्ति धेरै कुरा हासिल गरेका छन्। यसैकारण उनीहरूका क्षमतालाई लिएर कुनै सन्देह छैन। आउँदो वर्ल्ड कप (२०२७)-सम्म धेरै समय रहेको छ। उनीहरूले केवल एउटा प्रारूपमा खेलिरहेका छन् अनि लामो ब्रेकपछि घरेलु म्याच खेले हामी उनीहरूका स्थितिको आकलन गरिरहनेछौं। बीसीसीआईको यो पहल यस कुराको स्पष्ट संकेत हो कि बोर्ड अब अनुभव र प्रदर्शनबीच सन्तुलन चाहन्छ। घरेलु क्रिकेटमा ओर्लिँदा जहाँ खेलाड़ीहरूका फिटनेस र तक्निकको परखमा रहनेछ, त्यहीँ युवा खेलाड़ीहरूका निम्ति पनि नामले मात्र नभएर प्रदर्शनले टीममा स्थान पाउने सन्देश रहनेछ। कोहली र रोहितको निम्ति घरेलु क्रिकेटमा फर्किनु केवल औपचारिकता नभएर यो उनीहरूका फर्म र भविष्यको दिशा तय गर्ने कदम बन्न सक्छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement