खरसाङ: तीनधारे महानदी समष्टि अन्तर्गत सिविटारको बाघमारा बस्तीमा अवस्थित झ्याङ्तेर सामतेलिन छ्योलिङ गुम्बामा गत २ नोभेम्बरदेखि चलिरहेको त्रिपिटक काङयुर पाठ पूजाको समापन भएको छ। गत २ नोभेम्बरदेखि शुरु भएको उक्त काङयुर पूजाको समापन मंगलवार ११ नोभेम्बरको दिन वाङ वितरणसितै समापन गरिएको छ। बाघामारा बस्तीस्थित झ्याङ्तेर सामतेलिन छ्योलिङ गुम्बाको प्रमुख लामा स्याङ्देन म्हेमे (चन्द्रवीर लामा)को इच्छा अनुसार उक्त काङयुर पाठको पूजा आयोजना गरिएको छ। प्रमुख लामा स्याङ्देन म्हेमे (चन्द्रवीर लामा) को १०४ वर्षपछि निधन भएको छ। यस काङयुर पूजाको अन्तिम दिन मंगलबार कालेबुङबाट आएका बौध्द धर्म गुरु थेनट्रुल झ्याङलिन रिम्पोर्छेको बाहुलीबाट वाङ वितरण गरिएको छ। उक्त पूजाको अवसरमा सोमवार जीटीए प्रमुख अनित थापाले पनि गुम्बामा आएर पूजा अर्चना गरेका छन्। यस काङयुर पूजामा नेपाल, सिक्किम, दार्जिलिङ, कालेबुङ, खरसाङ, सिलगढी, तीनधारे, महानदी लगायत विभिन्न स्थानहरुबाट लामाहरु र भक्तजन उपस्थित भएर पूजा अर्चना गरेका थिए। यस काङयुर पूजा विषयमा पत्रकारहरुसित कुराकानी गर्दै बाघमारा बस्तीस्थित झ्याङ्तेर सामतेलिन छ्योलिङ प्रमुख सल्लाहकार साथै पूजा आयोजक कमिटीका संयोजक रञ्जन तामाङले काङयुर पूजामा उपस्थित लामाहरु र भक्तजन साथै सहयोग गर्ने सबैप्रति आभार प्रकट गरेका छन्।









