खरसाङ: खरसाङ नगरपालिकाको वार्ड नम्बर १७ का नारी प्रगति संस्थाद्वारा गाउँ परिवेश सफाई अभियान आयोजना गरिएको छ। गाँउको वातावरण सफा स्वच्छ र स्वस्थ्य राख्नु समुदायको स्वास्थ्य सौन्दर्य तथा समृद्धिसंग प्रत्यक्ष रूपमा सम्बन्धित हुन्छ। यसै उद्देश्यको साथ खरसाङ नयाँ बजार, वार्ड नम्बर १७ स्थित नारी प्रगति संस्थाले प्रतिवर्ष झैं लागभग ५० कर्मठ सदस्याहरूका सक्रिय सहभागितामा उक्त सर सफाईको कार्य सम्पन्न गरिएको छ। यस अभियानको मुख्य उद्देश्य गाउँका सार्वजनिक स्थानहरू सफा राखेर वातावरणीय प्रदूषण कम गर्नु साथै गाउँले बासिन्दामा यसको महत्वबारे जनचेतना फैलाउनु रहेको थियो। यस अभियानमा वार्डका मुख्य सड़क, गल्ली, कप्तान रामसिङ्ग ठकुरी पथ लगायत वरिपरिका चियाबारीमा फ्याँकेका फोहोरहरू सफाई गरेर अवरूद्ध नालीहरू पनि सर सफाई गरिएको छ। घर-घरमा सफाई सम्बन्धी छोटो जनचेतनामूलक सन्देश पनि प्रवाह गरिएको जानकारी प्राप्त भएको छ। यस अभियान सफलतापूर्वक सम्पन्न भएको छ। सामुहिक प्रयासले वातावरण सफा राख्न ठूलो सहयोग पुर्याउछन्। भविष्यमा पनि यस्ता गतिविधिहरू नियमित रूपमा सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्दै संस्थाका सचिव प्रनिता मुखिया घिसिङले जानकारी गराएकी छन्।









