संरक्षण समितिद्वारा स्थायी पुल निर्माणको मांग
सोनादा: पर्यटकहरुका लागि मुख्य आकर्षणको केन्द्र बिन्दु रहेको पर्यटन स्थल इन्द्रेणी फल्सको अवस्था विगत धेरै दिनदेखि धेरै शोचनीय अवस्थामा छ। आज पनि सोनादास्थित यस इन्द्रेनी फल्समा कैयौं पर्यटक घुम्न आउँछन्। तर यहाँको जर्जराउँदो, जीर्ण र भत्किसकेको पुलबाट जोखिम मोलेर हिड्न पर्ने बाध्यता छ। सोनादा बजारदेखि लगभग तीन किलोमिटरमुनि मिलिङ बस्तीमा प्राकृतिक रूपमा अवस्थित इन्द्रेणी फल्स पर्यटकहरुका लागि मुख्य आकर्षणको केन्द्र बनेको छ। तर अहिले इन्द्रेणी फल्स फेरि सोचनीय अवस्थामा पुगेको छ। पहाडी झरणा र दिनभरि देखिने इन्द्रेणीको मनमोहक दृश्य हेर्न अझैं पनि कैयौं पर्यटकहरू साधारण जानकारीको भरमा आउने गर्छन्। तर यहाँ वारिपारी जाने साँघुको रूपमा एउटा पक्की पुलसमेत छैन। यस सम्बन्धमा सम्बन्धित निकाय, नेतृत्व र क्षेत्रीय निकायलाई पटकपटक जानकारी नदिएको होइन। स्थानीयवासीदेखि बाहिरबाट आउने पर्यटकसमेत जोखिम मोलेर वारिपारी गर्नुपर्ने बाध्यता छ। कुनै पनि क्षण दुर्घटना हुन सक्ने सम्भावना छ। केही समय अघि इन्द्रेणी फल्स संरक्षण समितिले मानिसहरू हिड्नको निम्ति अस्थायी रूपमा बाँसको पुल बनाइए तापनि गत समय आएको भलले सो पुललाई धेरै क्षति पुरयाएका छन् जसले गर्दा यस पुलबाट हिड्न झन् जोखिम बनेको छ। इन्द्रेणी फल्स संरक्षण समितिले वर्षेनी यहाँ पुल निर्माण गर्ने गरेका छन् तर बर्खा लाग्नासाथ खोलाले बगाएर लाने गरेको छ। त्यसैले इन्द्रेणी फल्स संरक्षण समितिले पर्यटकीय स्थल इन्द्रेणी फल्स पुग्ने खोलामा स्थायी पुल निर्माणको मांग गर्दै आएका छन्। समितिले यहाँ पर्यटकहरुको सुविधाको लागि स्थायी पुल निर्माणको लागि सम्बन्धित निकाय जस्तै खण्ड विकास अधिकारी, महकुमा शासक, स्थानीय निकाय र सम्बन्धित विभागहरुमा ज्ञापन पत्र बुझाईसकेको बताइएको छ। यसको साथै हालमा इन्द्रेणी फल्स जाने खोलामा रहेको भत्कन लागेको पुल समितिले भत्काई दिने भएका छन्। किनभने समितिले यहाँ स्थायी पुल निर्माणको लागि माग गर्दै आईरहेका छन्। उक्त इन्द्रेणी फल्स पुग्ने बाटोमा पुल निर्माण गरिदिने विषयमा विशेष पहल गरिदिने अनुरोध संरक्षण समितिका कार्यकारी सदस्य बिसान्त राईले गरेका छन्। उनले पर्यटकीय स्थल इन्द्रेणी फल्स पुग्ने बाटोमा खोला भएकोले इन्द्रेणी फल्स संरक्षण समितिको तर्फबाट हरेक वर्ष अस्थायी पुल श्रमदान गरेर निर्माण गर्ने गरेको बताएका छन्। उनले यहाँ पुल छैन भने इन्द्रेणी फल्स पुग्न सक्दैन। त्यसैले हामीले श्रमदान गरेर वर्षैपछि अस्थायी पुल बनाउने गरेको तर वर्षैपछि बर्खाको समयमा पुल बगाउने गरेकोले यहाँ स्थायी रुपमा पुल निर्माण गरिनु आवश्यक रहेको बताएका छन्। त्यसरी नै इन्द्रेणी फल्स संरक्षण समितिको उमेश मुखियाले पत्रकारहरुलाई सम्बोधन गर्दै भने, ‘हालमा इन्द्रेणी फल्स दार्जिलिङ र उत्तर बंगालकै लागि टुरिस्ट हप बनेको छ। तर यहाँ निर्माण गरिने अस्थायी पुल वर्षैपछि बगाउने गरेको र यसपाली गत ४ अक्टोबरको राती आएको अविरल वर्षाका कारण यसपाली पनि पुललाई क्षति गरेको छ। यो पुल अहिले भत्किने अवस्थामा पुगेको छ र यो पुलको सोचनीय अवस्थाले पर्यटकहरुलाई धेरै खतरा भएको छ।’
उनले अघि भने, ‘इन्द्रेणी फल्स पुग्ने खोलामा स्थायी पुल निर्माण गरिनु पर्ने मागमा हामीले ग्राम पञ्चायत, खण्ड विकास, जीटीए र सम्बन्धित निकायले झट्टै बनाई दिने मांग गर्दै ज्ञापन पत्र बुझाउने काम गरिसकेका छौँ। यहाँ स्थायी पुल निर्माण नभए अब हामी पनि अस्थायी पुल नबनाउने निर्णय गरेका छौँ। यो सोचनीय अवस्थामा रहेको पुल पनि हामी भत्काउने छौं। किनभने यो पुलको कारण दुर्घटना हुन सक्ने सम्भावना देखिएको छ।’










