पटना: बिहार राज्यमा हुने विधानसभा चुनावको दोस्रो र अन्तिम चरणको मतदान भोलि मंगलबार हुँदैछ।
मतदान शान्तिपूर्ण र निष्पक्ष बनाउन राज्यभर चार लाखभन्दा बढी सुरक्षाकर्मी तैनाथ गरिएको छ।
निर्वाचन आयोगका अनुसार, यस चरणमा १२२ विधानसभा क्षेत्रहरूमा मतदान हुनेछ।
यसका लागि ४५ हजार ३९९ मतदान केन्द्र स्थापना गरिएको छ, जसमा करिब ४० हजार गाउँ क्षेत्रमा पर्ने छन्।
सुरक्षा व्यवस्थाका लागि केन्द्रीय सशस्त्र प्रहरी बलका करिब १००० कम्पनी राज्यमा खटाइएका छन्।
बिहार प्रहरीका ६० हजारभन्दा बढी जवान, ३० हजार विशेष सशस्त्र प्रहरी, २० हजार होमगार्ड, १९ हजार तालिमरत सिपाही, र अन्य डेढ लाखजति सुरक्षाकर्मीहरू चुनावी जिम्मेवारीमा खटाइएका छन्।
एक वरिष्ठ अधिकारीका अनुसार, “सुरक्षाको दृष्टिले सबै मतदान केन्द्रहरू समान रूपमा संवेदनशील” मानिएको छ।
पहिलो चरणमा भएको मतदानमा १२१ क्षेत्रहरूमा ६५ प्रतिशत मतदाता सहभागिता भएको थियो, जुन अहिलेसम्मकै सर्वाधिक मतदान दर भएको जनाइएको छ।









