देहरादून: प्रधानमन्त्री नरेन्द्र मोदीले आज उत्तराखण्डको रजत जयन्तीको मुख्य समारोहमा राज्यका २८ हजार किसानहरूको खातामा पुनर्गठित मौसम आधारित फसल बीमा योजनाअन्तर्गत ६२ करोड रूपैयाँ स्थानान्तरण गरेका छन्।
यसै अवसरमा प्रधानमन्त्री मोदीले उत्तराखण्ड उदयसँग सम्बन्धित दुई डाक टिकट पनि जारी गरे।
प्रधानमन्त्रीले गौरवशाली अतीत, सशक्त वर्तमान र सुनौलो भविष्य शीर्षकको कफी टेबल बुकको विमोचन पनि गरे। सोही अवसरमा सौंङ र जमरानी जलविद्युत परियोजना लगायत विभिन्न क्षेत्रका करिब ८,२६० करोडको विकास योजनाहरूको लोकार्पण तथा शिलान्यास गरिएको छ। कार्यक्रममा उत्तराखण्डको विकास यात्रासँग सम्बन्धित फिल्मको प्रदर्शन पनि गरिएको थियो।
कार्यक्रमको शुरुवातमा मुख्यमन्त्री पुष्कर सिंह धामीले प्रधानमन्त्रीलाई शाल ओढाएर स्वागत गरेका थिए। मुख्यमन्त्रीले प्रधानमन्त्रीलाई बाबा केदारनाथको शीतकालीन स्थल ओंकारेश्वर मन्दिर (ऊखीमठ) को मोडल पनि भेट गरेका थिए।
प्रधानमन्त्रीको उपस्थितिमा उत्तराखण्ड नागरिक उड्डयनका सचिव सचिन कर्वे र एयरपोर्ट अथोरिटीका अध्यक्ष विपिन कुमारबीच समझौतापत्र हस्तान्तरण गरिएको थियो। यस सम्झौताले पिथौरागढस्थित नैनी सैनी हवाई पट्टीलाई पूर्ण रूपमा एयरपोर्ट अथोरिटी अफ इन्डियाले अधिग्रहण गर्ने व्यवस्था सुनिश्चित गरेको छ। यसपछि सो हवाई पट्टीबाट नियमित उडान र यात्रा सीमा विस्तार हुनेछ भने आदि कैलाश, ओम पर्वत र लिपुलेख यात्राहरूलाई नयाँ गति प्राप्त हुनेछ।
प्रधानमन्त्रीले विमोचन गरेको कफी टेबल बुक केवल चित्रहरूको संग्रह मात्र नभई उत्तराखण्डको आत्मा, अस्मिता र आकांक्षाको दस्तावेज पनि हो। यसमा देवभूमिले परम्परालाई प्रगतिसँग कसरी जोडेको छ भन्ने दृश्यावलोकन प्रस्तुत गरिएको छ।
प्रधानमन्त्री मोदीले जारी गरेको डाक टिकटमा उत्तराखण्डको २५ वर्षको समृद्धि र संस्कृतिको कथा समेटिएको छ। त्यसैगरी उनले स्पेशल कभरको अनावरण गरे, जसमा केदारनाथ र बदरीनाथ धामको पुनर्निर्माण, दिल्ली–देहरादून एक्सप्रेस-वे र आल वेदर रोड देखाइएको छ।
यसका साथै प्रधानमन्त्रीले पेयजल, सिंचाइ, ऊर्जा, शहरी विकास, खेल, कौशल विकास र तकनीकी शिक्षा जस्ता प्रमुख क्षेत्रमा पर्ने परियोजनाहरूको पनि लोकार्पण र शिलान्यास गरेका छन्। महत्वपूर्ण परियोजनाहरूमा देहरादून जलापूर्ति कवरेज, पिथौरागढमा विद्युत सबस्टेशन, सरकारी भवनमा सौर ऊर्जा संयंत्र, हल्द्वानी स्टेडियम (नैनीताल) मा एस्ट्रोटर्फ हकी मैदान, सोंग बाँध पेयजल परियोजना र जमरानी बहुउद्देशीय बाँध परियोजना प्रमुख छन्।
सोंग बाँध परियोजनाले देहरादूनलाई प्रतिदिन १५० एमएलडी पेयजल उपलब्ध गराउनेछ भने जमरानी परियोजना सिंचाइ, पेयजल आपूर्ति र बिजुली उत्पादनमा सहायक हुनेछ। यसैगरी चम्पावतमा महिला खेल महाविद्यालय, नैनीतालमा अत्याधुनिक डेयरी संयंत्र र विद्युत सबस्टेशनको पनि शिलान्यास गरिएको छ।










