पहाड़बाट धेरै वैज्ञानिकहरू जन्मिने सम्भावना रहेको पाए: प्रो. आयन ब्यानर्जी
दार्जीलिङ: संयुक्त माध्यमिक शिक्षक संगठन केन्द्रीय समिति अनि इण्डियन इस्टिट्यूट अफ साइन्स एडुकेशन एण्ड रिसर्च, कलकत्ताको संयुक्तक आयोजन एवं गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको प्रायोजनमा हिजो अन्तर्विद्यालय विज्ञान प्रदर्शनी प्रतियोगिता सम्पन्न गरियो। उक्त प्रतियोगितामा क्रमैले सन्त रोबर्ट्स उच्चत्तर माध्यमिक विद्यालयले पियर्स चोइस, रामकृष्ण शिक्षा परिषद्ले भिजिटर्स चोइस, सेन्ट अल्फन्सस् स्कूल खरसाङले टीम वर्कमा, रेलिङ उच्चत्तर माध्यमिक विद्यालयले ओरिजिनल एनोभेसन, सिम्कुना साई उच्चत्तर माध्यमिक विद्यालयले प्रेजेन्टेशन एण्ड कम्युनिकेशन अनि मामरिङ तोर्योक उच्चत्तर माध्यमिक विद्यालयले बेस्ट एक्जिभिसन पुरस्कार प्राप्त गरे। दार्जीलिङ जिल्ला अधिनस्थ विभिन्न क्षेत्रका कूल १५ वटा विद्यालयहरूले सहभागिता जनाएको उक्त विज्ञान प्रदर्शनी समारोहको अध्यक्षता रामकृष्ण शिक्षा परिषद्, दार्जीलिङका प्रधान अध्यापक डा. मिलन तामाङले गरेका थिए भने प्रमुख अतिथिको रूपमा जीटीएका प्रमुख कार्यपाल अनित थापा उपस्थित रहेका थिए। यसबाहेक जीटीएका सचिव सुदेन छिरीङ भोटिया, जीटीए शिक्षा विभागका कार्यकारी निर्देशक मनोवेन्द्र मोद्दक, जिल्ला पाठशाला परिषद्का अध्यक्ष तिलक चन्द्र रोका, दार्जीलिङ नगरपालिका अध्यक्ष दिपेन ठकुरी, डीडीसीसीबीका अध्यक्ष केशवराज पोखरेल, सभासद् योगेन्द्र प्रधान, सेन्ट रोबर्ट्स स्कूलका फादर माइकल सिहं, आईआईएसईआर, कलकत्ताका प्रोफेसर अनन्दिता वद्रा, वैज्ञानिक सहायकहरू आयसा लहरी, विपुल हल्दार, सोहन विश्वासलगायत विभिन्न विद्यालयका प्रधान अध्यापक, अध्यापिका एवं अन्यान्न अतिथिहरूको बाक्लो सहभागिता रहेको थियो ।
अति भव्यताको साथमा सम्पन्न भएको उक्त प्रदर्शनीलाई जीटीएका चीफ अनित थापाले उद्घाटन गरेका थिए भने उक्त विज्ञान प्रदर्शनी कार्यक्रमको प्रशंसा गर्दै उनले उक्त विज्ञान प्रदर्शनीलाई सोच र खोजको उत्सव हो भनी बताए । विद्यार्थीहरूले प्रदर्शनीमा राखेको उक्त मोडेलहरूलाई मुग्ध कण्ठले प्रशंसा गर्दै जीटीए चीफ अनित थापाले प्रदर्शनीको क्रममा विद्यार्थीहरूको नमूनाहरू हेर्दा विद्यार्थीरूलाई आफूले स-सानो वैज्ञानिकहरूको रूपमा पाएको बताउँदै यस प्रकारका कार्यक्रमहरूको आयोजन भइऱहे एकदिन थुप्रै गोर्खे वैज्ञानिकहरू जन्मिने आशा पनि व्यक्त गरे।
कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा इण्डियन इन्स्टिट्यूट अफ साइन्स, एडुकेशन एण्ड रिसर्चका प्रोफेसर आयन व्यानर्जीले आजसम्म आफूहरूले आयोजन गरेका विज्ञान प्रदर्शनीहरूमध्ये सबैभन्दा उत्कृष्ट प्रदर्शनी रहेको बताए । विद्यार्थीहरूले तयार पारेका सबै मोडेलहरू उत्कृष्ट अनि रचनात्मक रहेको र ती मोडेलहरू हेरिसकेपछि दार्जीलिङमा धेरै वैज्ञानिकहरू जन्मने सम्भावना रहेको बताए।
विज्ञान प्रदर्शनीमा भाग लिएका विद्यार्थीहरूलाई संयुक्त माध्यमिक शिक्षक संगठन अनि आईआईएसईआर काेलकत्ता दुवै संस्थाको तर्फबाट पारितोषिक अनि प्रमाणपत्रहरू प्रदान गरिएको थियो। उक्त सेन्ट रोबर्ट्स उच्चत्तर माध्यमिक विद्यालय, रामकृष्ण शिक्षा परिषद् दार्जीलिङ, भानु उच्चत्तर माध्यमिक विद्यालय दार्जीलिङ, रिम्बीक उच्चत्तर माध्यमिक विद्यालय, दार्जीलिङ, घूम बाल उच्चत्तर माध्यमिक विद्यालय, घूम कन्या उच्चत्तर माध्यमिक विद्यालय, सिम्कुना साई उच्चत्तर माध्यमिक विद्यालय, सरस्वती उच्चत्तर माध्यमिक विद्यालय मङपू, ग्रिफिथ्स उच्चत्तर माध्यमिक विद्यालय, मामरिङ तोरयोक उच्चत्तर माध्यमिक विद्यालय, सेन्ट अल्फन्सस स्कूल, स्कट्स मिशन खऱसाङ, फुगुढी उच्चत्तर माध्यमिक विद्यालय, डा. राधाकृष्णनन् उच्चत्तर माध्यमिक विद्यालय आदि विद्यालयहरूले सहभागिता जनाएका थिए भने दार्जीलिङका विभिन्न विद्यालयहरूका विद्यार्थीहरू उक्त प्रदर्शनी हेर्न उपस्थित थिए।
आयोजक समितिको पक्षमा संयुक्त माध्यमिक शिक्षक संगठन, केन्द्रीय समितिका अध्यक्ष जोहन राईले दार्जीलिङ पहाड़मा धेरैजना मेधावी विद्यार्थीहरू भएतापनि उनीहरूको रचनात्मकता अनि वैज्ञानिक गुणहरूलाई देखाउने मञ्च नभएकोले नै आफूहरूले विज्ञानसित सम्बन्धित कलकत्ताका प्रतिष्ठित संस्था आईआईएसईआरसित मिलेर उक्त प्रदर्शनी गरिएको बताएका छन्। विज्ञानको क्षेत्रमा धेरै अवसरहरू भएतापनि उचित प्लेटफार्म नभएको कारणले गर्दा पहाड़का विद्यार्थीहरू यस क्षेत्रदेखि विमुख भइरहेको बताउँदै संगठनले आगामी दिनहरूमा पनि यस प्रकारका कार्यक्रमहरूको आयोजनामा निरन्तरता दिने पनि राईले बताएका छन्। जीटीए चीफ अनित थापाप्रति विशेष आभार व्यक्त गर्दै जीटीएले उक्त कार्यक्रमको प्रायोजन गरेर संगठनलाई ठूलो गुण लगाएको बताए। जीटीएको प्रायोजनकै कारण यति भव्यताको साथमा उक्त कार्यक्रम सम्पन्न भएको बताउँदै आगामी दिनहरूमा पनि जीटीए चीफबाट यस्तै रचनात्मक कार्यहरूको लागि सदैव आफूबाट सहयोग रहने आश्वासन प्राप्त भएको पनि राईले बताएका छन्।










