आशाबारी चिल्ड्रेन होम स्कुलका विद्यार्थीहरू सम्वर्द्धित

बाग्राकोट। आशाबारी चियाकमानमा अवस्थित निजी पाठशाला आशाबारी चिल्ड्रेन होम इंग्लिस स्कुललाई प्रतिनिधित्व गर्दै डुवर्सको साइँली चियाकमानमा हालै सम्पन्न भएको छैटौं ओपन आसिहारा कराटे च्याम्पियनसिप-२०२२ मा विभिन्न पदकहरू हत्याउन सफल विद्यार्थीहरूलाई गत शुक्रबारको दिन विशेष कार्यक्रमबीच सम्वर्द्धना जनाइएको खबर प्राप्त भएको छ।चिल्ड्रेन होम इंग्लिस स्कुलका प्रधान अध्यापक अनिल कुमार थापाले जनाए अनुसार उक्त च्याम्पियनसिपको आयोजना जापानको एक कराटे सङ्गठनसित आबद्ध तथा मिनिस्ट्री अफ् युथ अफेर्स एन्ड स्पोर्ट्स गभर्नमेन्ट अफ् इन्डिया, इन्डियन ओलम्पिक एसोसिएशनद्वारा मान्यताप्राप्त आसिहारा कराटे डु कइ-कानले गरेको थियो। च्याम्पियनसिप शिविर यसै महिनाको २ देखि ४ तारिकसम्म सञ्चालन भएको थियो।जसमा चिल्ड्रेन होम इंग्लिस स्कुलका नेहा उराऊ र अनुष्का शर्माले स्वर्ण पदक, अनिस शर्मा र दृष्टिका शर्माले रजत पदक अनि महेश सन्ताल र प्रितम छेत्रीले कास्य पदक पाएका थिए।जुन विद्यार्थीहरूलाई गएको शुक्रवारको दिन स्कुलले एक कार्यक्रमबीच सम्वर्द्धना जनाएको हो।

कार्यक्रममा सफल विद्यार्थीहरूलाई प्रधानाध्यापक अनिल कुमार थापाको बाहुलीबाट सम्वर्द्धना जनाइएको थियो।उक्त कार्यक्रममा अभिभावकगणलाई पनि निम्ताइएको थियो।कार्यक्रम बारेमा थप जनाउँदै प्रधानाध्यापक थापाले स्कुल यस स्तरको कराटे च्याम्पियनसिपमा प्रथमचोटि अंशग्रहण गरेको र कूल एघाह्र प्रतियोगीमध्ये छ:जनाले पदक हत्याउन सफल भएको जनाए।प्रधानाध्यापक थापाले स्कुलका सम्पूर्ण शिक्षक शिक्षिकाहरूका सहकार्यमा ती विद्यार्थीहरूले सफलता पाएको बताए।थापाले सहयोग एवम् सहकार्यको निम्ति शिक्षक शिक्षिका लगायत अभिभावकहरूप्रति धन्यवाद प्रकट गरेका छन्।स्मरण रहोस, आशाबारीमा अवस्थित चिल्ड्रेन होम इंग्लिस स्कुल निजी तवरमा सञ्चालन हुँदै अआइरहेको छ।जहाँ चियाकमान तथा ग्रामीण क्षेत्रका विद्यार्थीहरू पढ्ने गर्दछन्।

About Author

Advertisement