खरसाङ: खरसाङको लङ्भ्यू चियाबारी क्षेत्रबाट ईण्डियन गोर्खा जनशक्ति फ्रण्टको कार्यकर्ता निश्चल पाख्रिन भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा सामेल भएका छन्। खरसाङ बजारमा अवस्थित पार्टी कार्यालयमा सम्पन्न एक समर्थन कार्यक्रममा उनी आधिकारिक रूपमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा सामेल भएका छन्। उनलाई कार्यकारी सभासद कल्पना प्रधान, सभासद प्रणाम रसाइली लगायत पार्टीका अन्य पदाधिकारीहरु उपस्थित भएर पार्टीमा स्वागत जनाएका छन् उक्त समर्थन सभालाई सम्बोधन गर्दै निश्चल पाख्रिनले आजदेखि आफु आधिकारिक रूपमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा सामेल भएको तर योभन्दा अघि पनि अनित थापासित काम गरेको र उनीसित राम्रो सम्बन्ध रहेको बताएका छन्। उनले पहाडमा राजनैतिक लिडरहरुलाई गाली गर्ने प्रथा छोड्नुपर्छ बरु काम गर्नेलाई सुझाव दिनुपर्छ भनी बताएका छन्। यस समर्थन कार्यक्रमलाई कार्यकारी सभासद कल्पना प्रधानले सम्बोधन गर्दै भनिन् – ‘वास्तवमा निश्चल मभन्दा पहिला अनित थापासित पार्टीमा खट्दै आएका हुन्। उनी मेरो विद्यार्थी भए पनि पार्टीमा अघि हुन्। तर म सभासद चुनावमा उठेपछि मन दु:खाएर प्रतिद्वन्द्विता गरेका थिए। मैले पार्टीमा आउनु भनेर धेरै भने। तर अहिले धेरै अनुभव बटुलेर पार्टीमा आएको छ। खुशी लागेको छ।’
उनले अघि भनिन्, अब हामी सबै मिलेर आफ्नो समष्टिलाई बलियो बनाउनुपर्छ। मिलेर काम गर्नुपर्छ। आफ्नो गाउँ ठाउँमा सकरात्मक कुरालाई लिएर अघि बढ्नुपर्छ।’
समर्थन सभालाई सभासद प्रणाम रसाइली, लङ्भ्यू अम्बटे पंखाबारी समष्टिको सभापति एवं पञ्चायत प्रधान मणिराज डुम्जन, खरसाङ महकुमा समितिको प्रवक्ता अनुप रामुदामुले पनि सम्बोधन गरेका थिए। सभामा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको पदाधिकारीहरु उपस्थित रहेका थिए।










