द. अफ्रिकालाई ५२ रनले पराजित भारत पहिलोपल्ट वर्ल्ड च्याम्पियन

IMG-20251103-WA0004

मुम्बई: भारतले दक्षिण अफ्रिकालाई चरम रोमाञ्चक फाइनलमा ५२ रनले पराजित गरी आईसीसी वनडे वर्ल्ड कपमा पहिलोपल्ट च्याम्पियन बनेर इतिहास रच्यो। आइतवार नवी मुम्बईको डीवाई पाटिल स्टेडियममा खेलिएको फाइनलमा टस हारेर पहिला ब्याटिंग गर्दै भारतले ५० ओभरमा ७ विकेट गुमाएर २९८ रनको दह्रिलो स्कोर बनायो। त्यसपछि दक्षिण अफ्रिकी टीम ४५.३ ओभरमा २४६ रन बनाएर अलआउट भयो। यसअघि २ पल्ट फाइनलमा पुगेर पनि उपविजेताको रूपमा चित्त बुझाउनु पर्ने भारतीय टीमलाई च्याम्पियन बनाउनमा दीप्ति शर्मा र शेफाली वर्माकी उत्कृष्ट अलराउण्ड प्रदर्शनले महत्त्वपूर्ण भूमिका निर्वाह गऱ्यो। प्लेयर अव् द म्याच रहने शेफालीले फाइनलमा ८७ रन बनाउनको साथै २ विकेट हासिल गरिन्। यसरी प्लेयर अव् द टुर्नामेण्ट रहने दीप्तिले ५८ रन बनाउनको साथै ५ विकेट हासिल गरिन्। पहिलोपल्ट आईसीसी महिला वर्ल्ड कपको फाइनलमा स्थान बनाउने दक्षिण अफ्रिकी टीमलाई च्याम्पियन बनाउन कप्तान लौरा वूलफार्टले भरपूर प्रयास गरे पनि अन्तमा कुनै फाइदा भएन। विशाल लक्ष्यलाई पीछा गर्दै दक्षिण अफ्रिकाको निम्ति कप्तान वूलफार्टले ९८ बल खेलेर ११ वटा चौका र एउटा छक्काको सहायताले १०१ रन बनाइन्। यसबाहेक एनेरी डर्कसेनले ३५ रनको योगदान दिइन्। सुने लुसले २५ र ताजमिन ब्रिट्सले २३ रन बनाइन्। यसअघि म्याचमा पहिला ब्याटिंग गर्दै भारतीय टीमको निम्ति शेफालीले ७८ बल खेलेर ७ वटा चौका र २ वटा छक्काको साथ सर्वाधिक ८७ रन बनाइन्। यसबाहेक दीप्तिले ३ वटा चौका र एउटा छक्काको सहायताले ५८ बलमा ५८ रन बनाइन्। यी दुई बाहेक स्मृति मन्धनाले ४५ र रिचा घोषले ३४ रनको योगदान दिइन्। दक्षिण अफ्रिकी बलरहरूमा अयाबोंगा खाकाले ३ विकेट हासिल गरिन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement