सोनादा: सोनादा कलाकार मञ्चको तत्वाधानमा धन्यवाद एवं सम्मान कार्यक्रमको आयोजना गरियो। उक्त कार्यक्रममा सुर तरङ संगीत महाविद्यालयका प्राचार्य देवकुमार प्रधान अनि समाजसेवी, आध्यात्मिक व्यक्तित्व तथा कुशल उद्घोषक चन्दन लकान्द्रीलाई सम्मान पत्र, स्मृति चिन्हद्वारा सम्मान जनाइयो। कार्यक्रममा दार्जिलिङका वरिष्ठ संगीतकार, गीतकार प्रदीप छेत्री, गायक सुधीर राई, सुरतरङ संगीत महाविद्यालयका गायन विभागका शिक्षक मानसिंह राई, सोनादा पुलिस आउट पोष्टको प्रभारी योगेश ठकुरी, सोनादा ट्राफिक पुलिसको प्रभारी सबीन दर्नाललाई स्मृति चिन्हद्वारा सम्मान जनाइयो। त्यसरी नै मिडियाकर्मीहरुमा वरिष्ठ पत्रकार किरण छेत्री, स्वयं प्रधान तथा अजय राई, संजीव मोहोरा, अतित राई, भ्लगर जिम्बा तामाङलाई धन्यवाद स्वरुप स्मृति चिन्ह प्रदान गरियो। स्मरण गराइन्छ गत २५ अनि २६ अक्टोबरको दिन सोनादा कलाकार मञ्चको तत्वाधानमा दुइ दिवसीय सांगीतिक कार्यक्रमको आयोजना गरिएको थियो तथा उक्त कार्यक्रम सफल भएबापत सहयोगी सबैलाई आभार प्रकट गर्न यस कार्यक्रमको आयोजना गरिएको थियो। कार्यक्रममा उक्त सांगीतिक कार्यक्रममा अंश ग्रहण गर्ने मञ्चका कलाकार/गायक गायिका, सगरमाथा व्याण्डका कलाकारहरू तथा अतिथि गायक गायिका तथा वाद्य वादकहरुलाई स्मृति चिन्ह साथै केही आर्थिक राशि पनि प्रदान गरियो। धेरै वर्षको अन्तरालमा सोनादा क्षेत्रमा यस्तो साङ्गितिक कार्यक्रम भएको अनि युवाहरूलाई संगीत जस्तो क्षेत्रमा जोड्ने मञ्चको प्रयासको सराहना संगीत गुरू देवकुमार प्रधानले गरे। यसै वर्ष २६ जुलाईमा सोनादा क्षेत्रका कलाकारहरूद्वारा स्थापना गरिएको सोनादा कलाकार मञ्चको उद्देश्य क्षेत्रका पुराना तथा नवोदित कलाकार/युवाहरूलाई कुमार्गबाट हटाई संगीत क्षेत्रमा ध्यान केन्द्रित गराउनु हो भनी मञ्चका मूल सचिव सुनिल कोइराला शर्माले बताएका छन्। कार्यक्रममा मञ्चका सम्पूर्ण कलाकारहरुद्वारा मञ्चका सचिव सुनिल कोइराला शर्मा तथा सभापति उर्गेन गुरुङ्गलाई सम्मान स्वरुप स्मृति चिन्ह प्रदान गरियो। अन्तमा मञ्चका सभापति उर्गेन गुरुङ्गद्वारा धन्यवाद ज्ञापन गरियो भने कार्यक्रमलाई युवा गायक रुबेन सुब्बाले सञ्चालन गरेका थिए।









