गाँधीवादको शान्ति र स्वच्छताको सन्देश फैलाउँदै खरसाङदेखि महानदीसम्म ‘शताब्दी मार्च’ सम्पन्न

खरसाङ: गाँधीवादको शान्ति, शुद्धता र स्वच्छताको सन्देश फैलाउँदै खरसाङदेखि महानदीसम्म ‘शताब्दी मार्च’ सम्पन्न भएको छ। दार्जिलिङ हिमालयन रेलवे (डीएचआर) को आयोजनामा चलिरहेको ‘शताब्दी मार्च’ आज खरसाङदेखि महानदीसम्म सफलतापूर्वक सम्पन्न भएको छ। यस शताब्दी मार्चले महात्मा गान्धीको दार्जिलिङ भ्रमणको सय वर्षको सम्झनामा अर्को कोसेढुङ्गा स्थापना गरेको छ। सयभन्दा बढी स्वयंसेवकहरू यस मार्चमा सामेल भएर प्रतिकात्मक रूपमा गान्धीजीको पाइला पछ्याउँदै र शान्ति र शुद्धताको उनको सन्देशलाई अगाडि बढाएका छन्। यस कार्यक्रममा विभिन्न विद्यालयहरुका विद्यार्थीहरुले उत्साहजनक सहभागिता जनाएका थिए जसले खरसाङदेखि महानदीसम्मको पहाडी बाटोमा गान्धीजीको ऐतिहासिक पदयात्रालाई पुन: निर्माण गरेर आफ्नो जीवनमा सरलता र सत्यको मूल्यलाई कायम राख्ने वाचा गरेका थिए। यस क्रममा स्थानीय संघ संस्थाहरूको नेतृत्वमा प्लगिङ टोलीहरूले स्वच्छ भारत र वातावरणीय चेतनाको सन्देश प्रतिध्वनित गर्दै राष्ट्रिय राजमार्ग ११० क्षेत्रमा सर सफाई अभियानहरू सञ्चालन गरेका थिए। उनीहरूको प्रयासले गान्धीवादी आदर्श र आधुनिक नागरिकहरुको जिम्मेवारीबीचको सद्भावलाई बलियो बनाएको छ। सामुदायिक साझेदारहरूसँगको सहकार्यमा डीएचआरद्वारा आयोजित शताब्दी मार्चले आगामी दिनहरूमा पनि यो यात्रा जारी रहने भएको दार्जिलिङ हिमालयन रेलवेको निर्देशक रिशप चौधरीले बताए। उनले बताए अनुसार दार्जिलिङ हिमालयन रेलवेद्वारा महात्मा गान्धीको दार्जिलिङ यात्राको सय वर्ष पूरा भएकोमा दार्जिलिङ हिमालयन रेलवेद्वारा गत १८ अक्टोबरदेखि दार्जिलिङबाट ‘शताब्दी मार्च’ शुरु गरिएको छ।‌ यो यात्रा शनिवार खरसाङदेखि महानदीसम्म चलेको छ भने आगामी दिनमा यो शताब्दी मार्च घैयाबारी, तीनधारे हुँदै सिलगढीसम्म आयोजना गरिने भएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement