सम्थार: सम्थार स्पोर्ट्स एसोसिएशनको तत्त्वावधानमा आयोजित छेडुप लामा स्मृति सम्थार गोल्ड कप आमन्त्रणी फूटबल टुर्नामेण्टमा शक्ति संघ, कालीझोड़ाले सजिलै फाइनलमा स्थान बनायो। सम्थार खेल मैदानमा बिहीवार भएको दोस्रो सेमिफाइनल म्याचमा शक्ति संघ, कालीझोड़ाले नेताजी युथ क्लब, सेवोकविरुद्ध ४-२-ले जीत हासिल गऱ्यो। विजेता टीमको तर्फबाट पूजन थापाले २९औं, गिल्सन लिम्बुले ५३औं, सञ्जय लिम्बुले ६०औं र नीरज कार्कीले ६७औं मिनटमा गोल गरे। यसरी एनवाईसी, सेवोकको तर्फबाट म्याक्सवेलले २५औं र ६५औं मिनटमा गोल गरे। विजेता टीमका फरवर्ड आशिष चापागाईंलाई प्लेयर अव् द म्याच चयन गरियो। अब सोमवार खेलिने फाइनलमा शक्ति संघ, कालीझोड़ा र मिक्स्ड अप बोयज, खरसाङबीच भिड़न्त हुनेछ।

टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।
 
								



 
								

 
															 
                     
								 
								 
															 
								 
								





