सोनादा उच्चत्तर माध्यमिक विद्यालयको स्वर्ण जयन्ती समापन समारोह सम्पन्न

IMG-20251030-WA0127

विद्यालयको अडिटोरियम बनाई दिने अनित थापाले दिए वचन

सोनादा: सोनादा उच्चत्तर माध्यमिक विद्यालयको ५० वर्ष पुगेको अवसरमा वर्षव्यापी रुपमा आयोजना भईरहेको स्वर्ण जयन्ती समारोहको समापन सम्पन्न भएको छ। सोनादाको गोदाबारीस्थित सलेशियन कलेजको खेल मैदानमा आयोजना गरिएको उक्त स्वर्ण जयन्ती समापन समारोहमा प्रमुख अतिथिको रुपमा गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको प्रमुख कार्यपाल अनित थापा उपस्थित रहेका थिए। कार्यक्रममा विशिष्ट अतिथिको रुपमा जीटीएका डेपुटी चेयरम्यान एंव प्राथमिक शिक्षा विभागको कार्यकारी सभासद राजेस चौहान उपस्थित रहेका थिए भने अतिथिको रुपमा एआई दार्जिलिङ रोशनी सार्की, एआई अफ् स्कूल प्रदीप सुब्बा, डीआई कूचबिहार बालिका गोले, पञ्चायत प्रधान, पञ्चायत समिति सदस्य, विभिन्न विद्यालयहरुका शिक्षक शिक्षिकाहरु र सलेशियन कलेज सोनादाका फादर लगायत अन्यहरु उपस्थित रहेका थिए। सोनादा उच्चत्तर माध्यमिक विद्यालयको स्वर्ण जयन्ती समापन समारोहमा प्रमुख अतिथिको रुपमा उपस्थित जीटीए प्रमुख अनित थापालाई भव्य स्वागत गरिएको थियो भने उनको बाहुलीबाट विद्यालयको झण्डा उत्तोलन गरिएको थियो। उनले विद्यार्थीहरुले गरेको मार्च पास्टको सलामी पनि लिएका थिए। कार्यक्रममा मार्स ड्रिल पनि आयोजना गरिएको थियो। यस अवसरमा सोनादा उच्चत्तर माध्यमिक विद्यालयको तर्फबाट प्रमुख अतिथिको रुपमा उपस्थित जीटीए प्रमुख अनित थापालाई सम्मान् पनि जनाइएको छ।‌ स्वर्ण जयन्ती समापन समारोहको अवसरमा विद्यालयको विभिन्न खेलकूद, नृत्य, गीत, इन्टर हाउस फुटबल टुर्नामेन्ट लगायत विभिन्न सांस्कृतिक कार्यक्रमहरु आयोजना गरिएको थियो। यस अवसरमा शिक्षकहरुको फुटबल म्याच पनि सम्पन्न भएको छ। यस स्वर्ण जयन्ती समापन समारोहमा अतिथि कलाकारहरु क्रमैले कर्म शेर्पा, उज्जवल थापा, राकेस गोले, अमन गुरुङ आदिले कार्यक्रम प्रस्तुत गरेका थिए। कार्यक्रमलाई सह शिक्षकद्वय नरेश कटुवाल र नवीनम थापाले सञ्चालन गरेका थिए। कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थित गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको प्रमुख कार्यपाल अनित थापाले आफ्नो सम्बोधनमा सोनादा उच्चतर माध्यमिक विद्यालयको अडिटोरियम बनाई दिने वाचा गरेका छन्। उनले आफ्नो सम्बोधनमा भने, सोनादा उच्चतर माध्यमिक विद्यालयको गौरवमय स्वर्ण जयन्ती अवसरमा सम्पूर्ण विद्यालय परिवार, शिक्षक–शिक्षिका, कर्मचारी, विद्यार्थी, अभिभावक तथा पूर्वविद्यार्थीहरूलाई हार्दिक बधाई र मंगलकामना व्यक्त गर्दछु। यस ऐतिहासिक दिनमा तपाईहरूसित रहेर स्वर्ण जयन्ती मनाउनु पाउनु मेरो निम्ति अहोभाग्य ठानेको छु।’


अनित थापाले अघि भने, ‘आधा शताब्दीको अनुपम यात्रामा यस प्रतिष्ठित शिक्षालयले ज्ञान र मूल्य–आधारित शिक्षाको उज्यालो फैलाउँदै समाजलाई प्रगतिशील सोच, उत्तरदायित्व र अनुशासनको मार्गमा अघि बढाउँदै आएको छ। भविष्यका वर्षहरूमा पनि विद्यालयले यस्तै उत्कृष्टता, नैतिकता र सेवाभावका आदर्शहरूलाई अटल रूपमा अघि बढाउँदै क्षेत्र र राष्ट्रको शैक्षिक उत्थानमा योगदान दिइरहोस् भन्ने हार्दिक शुभेच्छा टक्र्याउँदछु।’

कार्यक्रममा धन्यवाद ज्ञापन विद्यालयको प्रधान अध्यापक दिपेन्द्र मुखियाले राखेका थिए। सोनादा उच्चतर माध्यमिक विद्यालयको स्थापना सन् १९७५ मा भएको थियो भने यस वर्ष ५० वर्षको गौरवमय वर्ष पूरा गरेको छ। विद्यालयको स्थापनाको ५० वर्ष पुगेको अवसरमा यस वर्ष वर्षव्यापी स्वर्ण जयन्ती समारोह आयोजना भईरहेको थियो भने बिहीबार स्वर्ण जयन्ती समापन समारोह सम्पन्न भएको छ। यस विद्यालयले सोनादा क्षेत्रमा विगत ५० वर्षदेखि लगातार रुपमा शिक्षाको गरिमा र शैक्षिक उन्नतिमा मुख्य भूमिका निर्वाह गर्दै आईरहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement