खरसाङ: उत्तर पूर्वी राज्यहरूको भ्रमणको तेस्रो दिन नागाल्याण्डको राजधानी कोहिमाको गोर्खा पब्लिक पञ्चायत हलमा कोहिमाको विभिन्न संघ संस्थाको प्रतिनिधिहरूसँग गोर्खाल्याण्ड एक्टिभिष्ट समूहका प्रतिनिधिहरूले विचार विमर्श गरेका छन्। उपस्थित प्रतिनिधिहरूले नागाल्याण्डका गोर्खाहरूको निम्ति पनि गोर्खाल्याण्ड आवश्यक रहेको तर विगतका गोर्खाल्याण्ड आन्दोलनहरुमा धेरै सहयोग पुऱ्याउँदा पनि आन्दोलनलाई सम्झौतामा लगेर टुङ्ग्याएको तितो अनुभव साझा गर्दै यदि गोर्खाल्याण्डको निम्ति आज पनि कसैले ईमान्दारपूर्वक गोर्खाल्याण्डको आन्दोलनलाई अघि बढाउँछ भने आफुहरु अझैं पनि सघाउन तयार रहेको बताए।
उपस्थित प्रतिनिधिहरूले विशेष गरेर दार्जीलिङका गोर्खाहरू आफै विभाजनमा रहनु नै गोर्खाल्याण्ड गठनको निम्ति बाधा हो भन्ने जनाउँदै पहिले दार्जीलिङका गोर्खाहरु नै एकिकृत बन्नु पर्ने सुझाव राखे।

“आन्दोलन दार्जीलिङबाटै उठ्नु पर्ने भएकोले दार्जीलिङले दह्रोसँगले आन्दोलनलाई अघि बढ़ाउनु पर्छ। दार्जीलिङका गोर्खाहरु एक बनेर गोर्खाल्याण्डको आवाज चर्काउनु पर्छ। दार्जीलिङले जब जब पनि गोर्खाल्याण्डको आवाज उठाएको छ, तब तब नै दार्जीलिङ बाहिरका गोर्खाहरु विशेष गरेर उत्तर पूर्वी भारतका गोर्खाहरुले भ्याए जति सब कुरा दिएरै सघाएका छन्। तर जहिल्यै पनि आन्दोलन टुङ्गोमा नपुऱ्याई सम्झौता गरेकोले हाम्रो मनमा आघात पुगेको छ। अहिले दार्जीलिङले गोर्खाल्याण्डको कुरा गर्दा हामीलाई शंका गर्नु पर्ने बाध्यता आउँछ। अहिले त दार्जीलिङकै गोर्खाहरुले नै गोर्खाल्याण्ड त मागी खाने भाँड़ा भएको हामी सुन्छौं। एक अर्कामा आक्षेप लगाउँदै झगड़ा गरिरहेका देख्छौं। त्यत्रो गोर्खा बाहुल्य ठाउँमा अरुले हेप्यो भन्दै गरेको भिडियोहरु हेर्न पर्छ हामीले। हामी त्यहाँका गोर्खाहरु त्यसरी एक आपसमै द्वन्द्व अनि झगड़ा नगरेर अरुबाट नहेपिएर एक मुष्ठ भएर अघि बढ़ेको हेर्न चाहान्छौं। त्यहाँ अरूको नौकर जस्तो होइन, मालिक भएर बसेको हेर्न चाहान्छौं। जसरी हामी यहाँ थोरै संख्यामा भएपनि एकताको सूत्रमा बाँधिएर बसेका छौं। असुरक्षाको भावनाले पिरोलिएकै कारण प्रत्येक संघ संस्थाको नाममा हामी गोर्खा शब्द जोड़ेका हुन्छौं अनि ग्रामीण स्तरीयदेखि राज्य स्तरीय समितिहरु गठन गरेर प्रत्येक संघ संस्थाहरुलाई बलियो बनाएर चलाउने गर्छौं। राजनैतिक रूपले हामी पनि यहाँ विभाजित नै छौं तर जातिलाई परेको खण्डमा हामी सबै जातीय भावनामा समेटिएर एक मुष्ठ बन्छौं। त्यसरी नै दार्जीलिङले पनि प्रत्येक लेभलमा जातीय संगठनहरुलाई बलियो बनाएर राख्नु जरुरी छ अनि जातिलाई परेको खण्डमा एक मुष्ठ भएर समेटिनु जरुरी हुन्छ।” उपस्थित संघ संस्थाका प्रतिनिधिहरुले यसरी आफ्नो सुझाव राखे। तथापि गोर्खाल्याण्ड एक्टीभिष्ट समूहले नयाँ वैचारिक धारामा आन्दोलनलाई अघि बढाउने पहल शुरु गरेकोले नयाँ आशा पनि पलाएको उनीहरूले आशा व्यक्त गरे। सबैले नै गोर्खाल्याण्डको कुरा गर्न छोड़ेको यो बेलामा एक्टीभिष्ट समूहले गोर्खाल्याण्डको आवाज लिएर उत्तर पूर्वी भारतको भ्रमण गरेको पहललाई सकारात्मक अनि उचित ठहर गर्दै स्वागत पनि जनाएको जानकारी प्राप्त भएको छ। मणिपुरमा जस्तै नागाल्याण्डका गोर्खाहरुलाई पनि असुरक्षाको भय एवम् त्रासले सताई रहेको र धेरै जसो गोर्खा सन्तानहरु आफ्नो ठाउँ छोड़ेर पलायन हुनु परेको बताउँदै गोर्खाल्याण्ड भएको खण्डमा यो पीड़ाबाट मुक्त हुन सकिने कुरा जनाए। त्यसैले गोर्खाल्याण्ड आफुहरुको निम्ति आवश्यक रहेको बताए। नागाल्याण्ड गोर्खा एसोसिएसनका महासचिव प्रेम कुमार थापाले सञ्चालन गरेको सभामा अल नागाल्याण्ड गोर्खा स्टुडेन्ट युनियनका अध्यक्ष जोन ठकुरी, चाँदमारी गोर्खा युनियनका सचिव समिर थापा, गोर्खा पब्लिक पञ्चायतका सचिव जीवन प्रधान, नागाल्याण्ड गोर्खा एसोसिएसनका अध्यक्ष नवीन प्रधान कोहिमा गोर्खा स्टुडेन्ट युनियनका अध्यक्ष मेघराज लामा अनि वरिष्ठ व्यक्तित्वको रूपमा डा. बुद्धि लामाले आ-आफ्नो विचार राखेका थिए। 

कोहिमाको गोर्खा पब्लिक पञ्चायत भवनको प्रेक्षालयमा सम्पन्न भएको उक्त सभामा गोर्खाल्याण्ड एक्टीभिष्ट समूहको परिचय एवम् कार्यक्रमबारे सह-सचिव बिक्रम छेत्रीले जानकारी गराएका थिए तथा संयोजक किशोर प्रधानले समूहको कार्यनीति एवम् योजनाहरुबारे अवगत गराएका थिए।
 
								



 
								

 
															 
                     
								 
								 
															 
								 
								





