यो रोडलाई लिएर केवल राजनीतिक चलखेल मात्र भयो तर शिलान्यास गरेर पनि मरमत्ति कार्य भने भएको छैन: आरके शर्मा
खरसाङ: खरसाङको सिंगेल चियाबारी जाने सडकको दयनीय अवस्थालाई लिएर ईण्डियन गोर्खा जनशक्ति फ्रण्टको तर्फबाट आवाज उठाएका छन्। खरसाङदेखि सिंगेल चियाबारी जाने बाटो अत्यन्तै जीर्णावस्थामा पुगेको विषयमा आज ईण्डियन गोर्खा जनशक्ति फ्रण्टको केन्द्रीय सदस्य एवं खरसाङका प्रवक्ता आरके शर्मा, सन्त मेरिज ग्राम पञ्चायत दुईको संयोजक अनुजा राई, सिंगेल चियाबारी युनिटको सभापति र सचिव लगायत अन्यहरु सिंगेल चियाबारी जाने बाटोको जीर्णावस्थालाई निरीक्षण गरेर यो बाटो झट्टै मरमत्ति गरिनु पर्ने विषयमा जोड दिएका छन्। यस बाटोबाट दैनिक आवतजावत गर्ने नेताहरू र सरोकारवालाहरूले पनि समस्या देख्दादेख्दै बेवास्ता गर्दै आएको स्थानीयको आरोप छ। ईण्डियन गोर्खा जनशक्ति फ्रण्ट पार्टीका प्रतिनिधिहरूले सडकको दुर्दशाप्रति स्थानीय सरकारको कडा आलोचना गरेका छन्। पार्टी प्रतिनिधिहरुले जनताका आधारभूत समस्या धरी जानी बुझी समाधान गर्न नचाहने सरकारप्रति उनीहरूले अब के आशा राख्ने भनी प्रश्न उठाएका छन्। यस विषयमा पत्रकारहरुसित कुराकानी गर्दै ईण्डियन गोर्खा जनशक्ति फ्रण्टको केन्द्रीय सदस्य एवं खरसाङका प्रवक्ता आरके शर्माले सिंगेल चियाबारीको सडकलाई लिएर पञ्चायत चुनावको समयदेखि नै चलखेल भएको थियो भनी बताएका छन्। उनले यो जीर्णावस्थामा रहेको सडकलाई लिएर सांसदले पनि बनाईदिन्छु भनेको थियो अनि क्षेत्रीय सभासदबाट पनि यो रोडको मरमत्तिको लागि शिलान्यास गरेर पनि अहिलेसम्म मरमत्तिको कार्य नभएको बताएका छन्। उनले यो जीर्णावस्थामा रहेको सडकको झट्टै मरमत्ति हुनु पर्ने माग गरेका छन्। यस सडकलाई लिएर आरके शर्माले भने, यो रोड पश्चिम बंगाल ग्रामीण विकास एजेन्सी अन्तर्गत मरमत्तिको काम गर्नु पर्ने हो। अहिलेसम्म यो रोड मरमत्तिको लागि शिलान्यास मात्रै भयो तर काम भने भएको छैन। यस रोडको मरमत्तिको कार्य झट्टै शुरु गरिनुपर्छ। यसको लागि हामी ईण्डियन गोर्खा जनशक्ति फ्रण्ट कता कता र कुन कुन विभागमा जानुपर्छ हामी जान तयार छौं।’
उनले अघि भने, यो रोड अत्यन्तै जीर्णावस्थामा पुगेको कारणले यो रोड भएर दैनिक ओहोर दोहोर गर्ने स्थानीयहरु र विद्यार्थीहरुलाई केही भएको खण्डमा स्थानीय सरकारले जिम्मेवारी लिनुपर्छ। यो रोडलाई लिएर केवल राजनीतिक चलखेल मात्र भएको छ।काम भने केही भएको छैन।’
उनले अझ भने, हालैमा आएको प्राकृतिक प्रकोपको जीटीएले ९५० करोडको माग गर्दै बजेट देखाएको छ अनि यसमा सिंगेल चियाबारीको यो जीर्णावस्थामा रहेको रोडमा पनि ५० मीटरको पैह्रो गएको देखाएको तर रोडमा पैह्रो भने गएको छैन। यो रिपोर्ट गलत रहेको छ। यहाँको रोडमा पैह्रो गएको छैन तर रोड नै अत्यन्तै जीर्णावस्थामा पुगेको छ।’










