अन्तिम संस्कार शुक्रबार गरिने
खरसाङ: गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको सूचना अनि सांस्कृतिक विभागको कार्यकारी सभासद एंव सोनादा पचेङ समष्टिको सभासद अनोश थापा पितृ शोकमा परेका छन्। कार्यकारी सभासद अनोश थापाको पिता कर्णबहादुर थापाको आज साँझ ५ बजीतिर १०२ वर्षको उमेरमा निधन भएको छ। उनी गत केही दिनदेखि बिमार अवस्थामा रहेका थिए। उनले आफुपछि सातजना छोराहरू र पाँचजना छोरीहरु साथै नाता नातिनीहरु र पनाति पनातिनीहरु छोडी गएका छन्। जीटीएको कार्यकारी सभासद अनोश थापाको पिता कर्णबहादुर थापाको अन्तिम संस्कार २४ अक्टोबर २०२५ शुक्रबारको खरसाङ खण्ड अन्तर्गत सिंगेल चियाबारीको पाँचधुरास्थित निजी बासस्थानमा गरिने जानकारी प्राप्त भएको छ। सभासद अनोश थापाको पिताको निधनमा गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको प्रमुख कार्यपाल एंव भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय संस्थापक अध्यक्ष अनित थापाले सामाजिक सञ्जालमा पोष्ट गर्दै श्रध्दाञ्जली अर्पण गरेका छन्। त्यसरी नै गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको डेपुटी चेयरम्यान राजेस चौहानले पनि सभासद अनोश थापाको पिताको निधनमा श्रध्दाञ्जली अर्पण गरेका छन्। त्यसरी नै भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा खरसाङ महकुमा समितिको सभापति एंव खरसाङ नगरपालिकाको भाइस चेयरम्यान सुवास प्रधानले पनि सभासद अनोश थापाको पिताको निधनमा श्रध्दाञ्जली अर्पण गरेका छन्।
 
								



 
								

 
															 
                     
								 
								 
															 
								 
								




