नयाँ दिल्ली: भारतीय विकेटकीपर ब्याटर ऋषभ पन्त खुट्टाको चोटबाट मुक्त भएर क्रिकेट मैदानमा फर्किन तयार छन्। दक्षिण अफ्रिका ए-विरुद्ध २ वटा म्याचको रातो बलको सीरीजको निम्ति पन्तलाई भारत ए टीममा सामेल गरिएको छ। पन्तले यस सीरीजमा भारत ए टीमको कप्तानी पनि गर्नेछन्। यस साल ईङ्ल्याण्डमा खेलिएको ५ वटा टेस्ट म्याचको सीरीजको अवधिमा पन्तको खुट्टामा चोट लागेको थियो। त्यस सीरीजदेखि उनी मैदान बाहिर रहेका थिए। भारत ए र दक्षिण अफ्रिका ए टीमबीच ३० अक्टोबरदेखि दुईवटा अनौपचारिक (अनअफिसियल) टेस्ट म्याचको सीरीज खेलिनेछ। पन्त चोटले गर्दा एशिया कप, वेष्ट इण्डिजविरुद्ध टेस्ट सीरीज र अष्ट्रेलियाविरुद्ध सीमित ओभरहरूको सीरीज खेल्नदेखि वञ्चित भएका थिए। अहिले उनी सम्पूर्ण रूपले फिट अनि मैदानमा फर्किन तयार छन्। चयनकर्ताहरूले भारत ए टीममा साई सुदर्शनलाई पनि मौका दिएका छन्। सुदर्शन टीमका उपकप्तान हुनेछन्। यसरी केएल राहुल, ध्रुव जुरेल, प्रसिद्ध कृष्णा र मोहम्मद सिराज दोस्रो म्याचको निम्ति उपलब्ध रहनेछन्। भारत ए र दक्षिण अफ्रिका ए-बीच दुवै अनौपचारिक टेस्ट म्याच बेंगलुरुस्थित बीसीसीआई-को सेण्टर अफ एक्सिलेंस केन्द्रमा हुनेछ। यस सीरीजको साथ भारतले दक्षिण अफ्रिकाविरुद्ध १४ नोभेम्बरदेखि कलकत्ताको ईडन गार्डन्समा शुरु हुने टेस्ट म्याचको तयारी पनि शुरु गर्नेछ।
यसबीच भारत ए टीममा सरफराज खानले मौका नपाउँदा विवाद सृष्टि भएको छ। टीममा उनको अनुपस्थितिले भारतीय प्रशंसकहरूलाई स्तब्ध बनाएको छ। उनले गत केही समयमा असल प्रदर्शन गरेर चयनकर्ताहरूलाई प्रभावित गरेका थिए तर फेरि एकपल्ट उनलाई टीममा स्थान दिइएन। सरफराजले आफ्नो गत २ वटा प्रथम श्रेणीको म्याचमा असल ब्याटिङ गरेका थिए। उनले ईङ्ल्याण्ड लायन्सविरुद्ध ९२ रनको ईनिङ्स खेलेका थिए। यसरी उनले जम्मू-कश्मीरविरुद्ध पनि ४२ र ३२ रन बनाएका थिए। यसैकारण सबैलाई उनले भारत ए टीममा स्थान बनाउने आशा थियो तर चयनकर्ताहरूले उनलाई फेरि किनारा लगाए।
दक्षिण अफ्रिका ए टीमविरुद्ध पहिलो ४ दिवसीय म्याचको निम्ति भारत ए टीम यसप्रकार छः
ऋषभ पन्त (कप्तान), अयुष म्हात्रे, एन जगदीशन (विकेटकीपर), साई सुदर्शन (उपकप्तान), देवदत्त पडिक्कल, रजत पाटीदार, हर्ष दुबे, तनुष कोटियान, मानव सुथर, अंशुल कम्बोज, यश ठाकुर, आयुष बडोनी, सारांश जैन, गुरनुर बरार, खलील अहमद।
दक्षिण अफ्रिका ए टीमविरुद्ध दोस्रो ४ दिवसीय म्याचको निम्ति भारत ए टीम यसप्रकार छः
ऋषभ पन्त (कप्तान), केएल राहुल, ध्रुव जुरेल (विकेटकीपर), साई सुदर्शन (उपकप्तान), देवदत्त पडिक्कल, रुतुराज गायकवाड, हर्ष दुबे, तनुष कोटियान, मानव सुथर, खलील अहमद, गुरनुर बरार, अभिमन्यु ईश्वरन, प्रसिद्ध कृष्णा, मोहम्मद सिराज, आकाश दीप।
 
								



 
								

 
															 
                     
								 
								 
															 
								 
								




