सडक मरमत्ति नभए गाउँलेहरु सबै मिलेर चुनाव बहिष्कार गर्ने निर्णय
खरसाङ: खरसाङ महकुमा अन्तर्गत सिटोङ दुई ग्राम पञ्चायतको अप्पर मामरिङ जन मैदानमा गाउँ वरिपरिका सम्पूर्ण संघ संस्थाहरु लगायत राजनीतिक दलका प्रतिनिधिहरु र स्थानीयहरुलाई लिएर एक महत्त्वपूर्ण सभा अप्पर मामरिङ बुनिँयादी पाठशालाका पूर्व प्रधान अध्यापक दिलकुमार छेत्रीको अध्यक्षतामा सम्पन्न भयो। गाउँका सचेत नागरिकहरुद्वारा डाकिएको उक्त सभा वर्षौंदेखि अति जीर्ण अवस्थामा रहेको मूल सडक विषयमाथि बसेको थियो। अप्पर मामरिङ माने डाँडादेखि लोवर मामरिङ उच्चतर माध्यमिक विद्यालयसम्मको सडक खोलाको बगर जत्तिकै दुरावस्था हुँदा समेत वर्तमान सत्ता पक्षद्वारा केवल ढाँटने र आश्वासन दिने मात्र काम भएको हुँदा ग्रामबासीहरु एकदमै निराश अनि रुष्ट बनेको कारण नै अब के गर्न पर्ने भन्ने बारे निर्णय लिन उक्त सभा बसिएको जानकारी वसन्त राईले प्रेस विज्ञप्तिद्वारा दिएका छन्। पीडित ग्रामवासीको तर्फबाट ड्राइभर एसोसिएसनका सचिव वसन्त राईले सञ्चालन गरेको सभामा समाज सुधार संघ अप्पर मामरिङका सचिव पेम्बा शेर्पाले स्वागत सम्भाषण राखेका थिए। सभामा उपस्थित सबै प्रतिनिधिहरुले सडकबारे आ-आफ्नो दुःखेसो र मन्तव्यहरु राखेका थिए। सञ्चालनको क्रममा वसन्त राईले सभाको औचित्य बुझाउँदै धेरै वर्षदेखि यस सडक मरम्मति बारे जिटिए कार्यपाल लगायत प्रशासनका सबै पक्षलाई गुहार लगाएता पनि आजसम्म केही हुन नसकेको साथै यस गाउँमा सडक मात्रै होइन अन्य विकासहरु पनि आजसम्म केही नभएको तथा एउटा कम्युनिटी भवन समेत नबनिएको बताए। सभालाई अप्पर मामरिङ युथ क्लबका सचिव उन्नत तामाङले पनि सम्बोधन गरेका थिए। वक्तव्यको क्रममा भागोप्रमो अप्पर मामरिङ बुथका सचिव हेमन्त गुरुङले पनि आफू सत्तासीन पार्टीकै कार्यकर्ता भएता पनि यो पार्टीले जनगुनासोलाई साथ नदिएको भनी स्पष्ट पारे। पार्टी पक्षबाट जीर्णावस्थामा रहेको सडक सम्बन्धि कुनै पनि ठोस पहल नभएको अनि अब यसबाट उद्धार पाउन गाउँको आवाजलाई नै साथ दिने भनी वाचा गरे। यसैगरी सामाजिक विकास मञ्च लोवर मामरिङको तर्फबाट प्रतिनिधित्व गर्दै सचिव रमेश खवास र कार्यकारिणी सदस्य बिकास खवासले पनि आ-आफ्नो वक्तव्यको क्रममा यसै कुरालाई जोड दिँदै यो ठाउँमा साँच्चै कुनै पनि ठोस विकासमूलक कार्यहरु नभएको दाबी गरे। अप्पर मामरिङ चालक संगठनका सभापति संजीव छेत्रीले पनि मन्तव्य राख्ने क्रममा यो अब यो मुद्दा केवल चालकवर्गको निम्ति मात्रै नरहेर अप्पर, मिडल र लोवर मामरिङकै जनताको निम्ति नै घोर समस्या हो भनी बताए। अब यस विषयलाई अझ उजागर गर्न सिटोङ दुई व्यापी पोस्टरिङ गरिने अनि माइकिङ गरेर सम्पूर्ण जनसाधारणलाई नै यो विषयमा अघि आउन अनि “नो रोड नो भोट”को अडानलाई समर्थन गर्न आह्वान गर्ने बताए। वक्तव्यकै क्रममा चालक संगठनका प्रमुख सल्लाहकार अरुण भुजेल साथै अप्पर मामरिङ निम्न बुनियादी पाठशालाका वर्तमान प्रधान अध्यापक सुरज मुखियाले पनि यदि यस सडकको जीर्णोद्धारको निम्ति कुनै पनि सचेत नागरिक मञ्च बनिए आफूहरु एक सदस्य भएर तनमनले साथ दिने भनी जनाए। आफू भोटमा उठेको तर अहिले त्यसको ठीक विपरित भइरहेकोमा दु:ख प्रकट गर्दै अब उसो कुनै मञ्च बनिए आफूले सोही मञ्चको निर्णयहरुलाई समर्थन गर्ने भनी अप्पर मामरिङ बुथकी पञ्चायत सदस्या तृष्णा मुखियाले पनि आफ्नो कुरा राखिन्। सभाको अन्त्यमा सभापति दिलकुमार छेत्रीले विगत घिसिङको पालोमा पनि एकपल्ट भोट बहिष्कार गरेर मात्रै यस क्षेत्रमा विकासको पदार्पण भएको थियो र अब पनि सायद यति गरेर चैं केही हुन्छ भने आफूले पनि यस विषयलाई पुर्ण समर्थन जनाएका छन्।
 
								



 
								

 
															 
                     
								 
								 
															 
								 
								




