पहिले र अहिलेको पत्रकारिता : एक दृष्टिकोण

00-Srcibes-1-2

पहिले आजभन्दा लगभग २५-३० वर्ष अघिको र अहिले वर्तमान युगको पत्रकारितालाई नियालेर हेर्दा धेरै परिवर्तन भएको हामी पाउँछौं। पहिले पत्रकारिता गर्न धेरै साह्रो थियो। त्यस बखत मोबाइल फोन र इन्टरनेटको अभावमा कुनै पनि प्रमुख न्यूजलाई संग्रह गर्न सभा अथवा घटनास्थलमा पुग्न पर्दथ्यो। आफू त्यहाँ समयमा नपुग्दा पार्टीका सम्बन्धित नेतृत्वहरूसित सभा अथवा घटनाबारे जानकारी लिन पर्दथ्यो। आफू त्यहाँ नपुगेसम्म त्यो न्यूज बनिँदैनथ्यो। आफू स्टेशन बाहिर गएको खण्डमा न्यूजहरू छोड़िँन्थ्यो।

त्यसताक प्रत्येक दिन धेर जसो न्यूजहरू प्रेस विज्ञप्ति मार्फत पनि प्राप्त हुने गर्दथ्यो। प्रेस विज्ञप्ति मार्फत प्राप्त न्यूजहरूलाई संशोधन गरि बनाएर सिलगढी कार्यालयसम्म पठाइन्थ्यो। कहिले-काहिँ कार्यक्रम भएको एक साता पछि पनि प्रेस विज्ञप्ति प्राप्त हुने गर्दथ्यो। यसो भएको खण्डमा अबेर गरि अथवा ढ़ीलो गरि प्राप्त जानकारीअनुसार भनी न्यूजमा उल्लेख गरि न्यूज बनाउने गरिन्थ्यो। यस प्रकारले पनि त्यस्ताक न्यूज बनाउने प्रचलन थियो। यहाँसम्म कि आज पठाइएको न्यूज स्थानको अभावमा भोलि प्रकाशित नभएको खण्डमा पर्सीपल्ट पनि प्रकाशित गरिन्थ्यो। न्यूजसित फोटो छपाउनको लागि फोटोको हार्ड कपी न्यूजसित कार्यालय पठाउन पर्दथ्यो। तर अहिले त्यसो छैन्। यसमा धेरै परिवर्तन आएको छ।

अहिले मोबाइल फोन र इन्टरनेटको साधन उपलब्ध भएदेखि न्यूजलाई मोबाइल अथवा ल्यापटपमा कम्पोज्ड् गरि सहजै कार्यालयसम्म पठाउन सकिन्छ। यसबाट सम्बन्धित न्यूजको फोटो पनि सहजै पठाउन सकिन्छ। पहिलेको तुलनामा अहिले लिखित रूपमा प्रेस विज्ञप्तिहरू धेरै कम मात्रामा आउने गर्छ। कार्यक्रम अनि घटनाबारे धेर जसो खबर फोटोसहित ह्वाट्सअप मार्फत विविध राजनैतिक पार्टी,अराजनैतिक संगठनहरू, संघ-संस्था आदिबाट प्राप्त हुने गर्दछ। कहिलेकाहिँ सभा अथवा घटनास्थलसम्म पुग्न नसकेको खण्डमा फोन मार्फत पनि सजिलैसित जानकारी लिन सकिन्छ। अहिले आफू कहिँ रहेर पनि पत्रकारिता गर्न सक्ने स्थिति छ।

प्रचार-प्रसारको जमानामा अहिले प्रायः जसो राजनैतिक पार्टी, अराजनैतिक संगठनहरू, संघ-संस्थाहरूले ह्वास्टएपमा पत्रकारहरूलाई ट्याग गरि सभा अथवा कार्यक्रमबारे जानकारी दिने गर्दछन्।फलस्वरूप पत्रकारिता गर्न पत्रकारहरूलाई धेरै सजिलो पर्न जाँदछ। यस प्रकारले पहिले र अहिलेको पत्रकारितामा धेरै परिवर्तन भएको हामी पाउँछौं, भन्नमा शायद कुनै अत्युक्ति नहोला।

(लेखक दार्जीलिङ पहाडी भेकका सुपरिचित पत्रकार हुनुहुन्छ)                            

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement