मङपू: मङपू युथ क्लबको तत्त्वावधानमा आयोजित मङपू गोल्ड कप २०२५ फूटबल टुर्नामेण्टमा जर्जियन फूटबल क्लब (कालेबुङ)-ले फाइनलमा स्थान बनायो। मङपू खेल मैदानमा आइतवार खेलिएको दोस्रो सेमिफाइनल म्याचमा जर्जियन फूटबल क्लबले दार्जीलिङ पुलिसविरुद्ध १-०-ले जीत हासिल गऱ्यो। विजेता टीमको तर्फबाट एकमात्र गोल सिलास लेप्चाले ८४औं मिनटमा गरे। सिलास लेप्चाले प्लेयर अव् द म्याचको ट्रफी हासिल गरे। अब २६ अक्टोबरमा खेलिने फाइनल म्याचमा जर्जियन एफसी र गान्तोक हिमालयन फूटबल क्लबबीच भिड़न्त हुनेछ। टुर्नामेण्टको यस संस्करणमा जम्मा ८ वटा अग्रणी टीमहरूलाई स्थान दिइएको छ।

यसमा उत्तर बंगालका शीर्ष टीमहरूको साथमा छिमेकी देश नेपाल र छिमेकी राज्य सिक्किमको टीम पनि सामेल छन्। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा २ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।