दार्जिलिङ हिमालयन रेलवे हाम्रो लागि मुटु हो: सांसद राजु विष्ट
सोनादा: दार्जिलिङ हिमालयन रेलवेद्वारा आईतबार सोनादा रेलवे स्टेशनमा स्टेशन महोत्सव पालन गर्दै सोनादा रेलवे स्टेशनमा नयाँ बोर्डको उदघाटन गरिएको छ। विश्वमा रेलवे सेवा शुरु गरिएको २०० वर्ष पूरा भएको अवसरमा दार्जिलिङ हिमालयन रेलवेको आयोजनामा हरेक रेलवे स्टेशनमा स्टेशन महोत्सव आयोजना भईरहेको छ। यसै अवसरमा आईतबार सोनादा रेलवे स्टेशनमा स्टेशन महोत्सव पालन गरिएको छ। यस अवसरमा मुख्य अतिथिको रुपमा दार्जिलिङका सांसद राजु विष्ट उपस्थित रहेका थिए। सांसद राजु विष्टको बाहुलीबाट नै सोनादा रेलवे स्टेशनमा निर्माण गरिएको नयाँ साइन बोर्डको उदघाटन पनि गरिएको छ। यसको साथै दार्जिलिङ हिमालयन रेलवेको आयोजनामा भईरहेको शताब्दी मार्च पनि सोनादा आईपुगेको छ। राष्ट्रपिता महात्मा गान्धीको दार्जिलिङ यात्राको सय वर्ष पुगेको अवसरमा दार्जिलिङ हिमालयन रेलवेको आयोजनामा दार्जिलिङदेखि सिलगढीसम्म शताब्दी मार्च गत १८ अक्टोबरदेखि दार्जिलिङबाट शुरु भएको थियो। उक्त शताब्दी मार्च आईतबार सोनादा रेलवे स्टेशनमा आईपुगेको छ। यस अवसरमा दार्जिलिङका सांसद राजु विष्ट, दार्जिलिङ हिमालयन रेलवेको निर्देशक रिशप चौधरी, सोनादा गोर्खे हाटको प्रतिनिधिहरु, अप्पर सोनादा ग्राम पञ्चायतको पञ्चायत प्रधान दावा तामाङ, भुपेन गुरुङ अनि अन्यहरु उपस्थित रहेका थिए। यस स्टेशन महोत्सव र शताब्दी मार्च कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थित सांसद राजु विष्टले सम्बोधन गर्दै भने, दार्जिलिङ हिमालयन रेलवे हाम्रो लागि मुटु हो। दार्जिलिङ हिमालयन रेलवे हाम्रो आत्मामा बसेको छ। डीएचआरले अहिले धेरै नयाँ रेल सेवाहरू शुरु गरेको जसको लागि डीएचआरको निर्देशक रिशप चौधरीलाई बधाई छ। यो सम्पत्तिलाई सम्हालेर संरक्षण गर्नु हाम्रो पनि दायित्व हो।’
सांसद राजु विष्टले आफ्नो सम्बोधनमा रेलवे सेवा शुरु भएको २०० वर्ष पुगेको र महात्मा गान्धीको दार्जिलिङ यात्राको सय वर्ष पूरा गरेकोमा सबैमा बधाई पनि दिएका छन्। उनले हालमा पहाडमा आएको प्राकृतिक प्रकोपमा ज्यान गुमाउनेहरुप्रति श्रध्दाञ्जली अर्पण पनि गरेका छन्।
यस स्टेशन महोत्सव र शताब्दी मार्च विषयमा पत्रकारहरुसित कुराकानी गर्दै दार्जिलिङ हिमालयन रेलवेको निर्देशक रिशप चौधरीले विश्वमा रेलवे सेवा सेप्टेम्बर २०२५ मा २०० वर्ष पूरा गरेको र यसै अवसरमा दार्जिलिङ हिमालयन रेलवेद्वारा प्रत्येक रेलवे स्टेशनमा स्टेशन महोत्सव पालन गर्दै आईरहेको अनि यही स्टेशन महोत्सव अन्तर्गत सोनादामा स्टेशन महोत्सव पालन गर्दै नयाँ साइन बोर्ड उदघाटन गरिएको जानकारी गराएका छन्।

निर्देशक रिशप चौधरीले महात्मा गान्धी दार्जिलिङ पहाड आएको १०० वर्ष पूरा भएकोमा पनि शताब्दी मार्च अन्तर्गत दार्जिलिङदेखि सिलगढीसम्म मार्च आयोजना गरिएको र यसै अन्तर्गत अर्को टिमले आज घुमदेखि सोनादा रेलवे स्टेशनसम्म यात्रा आयोजना गरिएको जानकारी गराएका छन्। उनले यो स्टेशन महोत्सव अन्तर्गत स्थानीय संस्कृतिलाई संरक्षण र सम्बर्द्धनको लागि स्थानीयहरुको आयोजनामा भईरहेको पनि बताएका छन्।