गान्तोक: हिमालय क्षेत्रमा हिमनदी र जल निकायहरूको अनुगमन” सम्बन्धी बैठकले विभिन्न विषयमाथि छलफल गरेको छ। राजधानीस्थित भू-राजस्व एवं आपदा प्रबन्धन विभागको प्रेक्षागृहमा सम्पन्न भएको सभाको अध्यक्षता राहत आय़ुक्त एवं सचिव एमटी शेर्पाले गरेका थिए। उक्त सभामा विज्ञान एवं प्रौद्योगिकी विभाग, केन्द्रीय जल आयोगलगायत अन्य विभागका अधिकारीहरू पनि सामेल थिए। सभामा हिमालय क्षेत्रमा हिमनदी झील बिस्फोट, बाढी अध्ययन र हिमनदी झीलहरूको अनुगमनलाई प्रकाश पार्दै पावर पोइन्टको माध्यमद्वारा प्रस्तुतीकऱण गरिएको थियो। छलफलको क्रममा हिमनदीको जोखिम सुचाङक,अनुगमनको विधि र नदी उपत्यका परियोजनाहरूमा ग्लोफ जोखिम मूल्याङ्कन गर्न राष्ट्रिय दिशानिर्देशलाई समावेश गरिएको थियो। सभामा प्रभावकारी योजना र न्यूनीकरणको लागि १९७५ देखि उपलब्ध सठीक जलविज्ञान र टेलिमेट्रिक तथ्याङको महत्त्वमाथि जोड दिइएको थियो। सोही प्रकारले नदीहरूमा जलस्तरको वृद्धि, खतरा, चेताउनी साथै अन्तर-विभागीय तथ्याङ साझेदारी र समन्वय बढाउने आवश्यकतामाथि जोड दिएको थियो। सभालाई सम्बोधन गर्ने क्रममा राहत आयुक्त शेर्पाले जोखिममा रहेका क्षेत्रहरूमा प्रभावकारी अनुगमन, लचिलोपन-निर्माण, र जोखिम न्यूनीकरणको लागि सामूहिक प्रयासहरूको महत्त्वमाथि प्रकाश पारे।