गान्तोक: आगामी ३१ अक्टोबरको दिन पालन गरिने राष्ट्रीय एकता दिवसको तयारीलाई लिएर आज राज्यका मुख्य सचिव आर तेलाङको अध्यक्षतमा एक बैठक सम्पन्न भयो। सरदार बल्लभ भाइ पटेको जन्मजयन्तीलाई राष्ट्रीय एकता दिवसकोरूपमा प्रत्येक वर्ष पालन गरिन्छ। राजधानीस्थित टाशीलिङ सचिवालयमा सम्पन्न भएको बैठकलाई सम्बोधन गर्दै मुख्य सचिव तेलाङले उक्त कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गराउनको निम्ति विभागका अधिकारीहरूबीच तालमेल राखेर काम गर्नुपर्ने आग्रह गरे। उनले थप जानकारी गराएअनुसार राष्ट्रिय एकता दिवस एकता र राष्ट्रलाई सुदृढ पार्ने सामूहिक प्रयासको भावनाको स्मरणको निम्ति पालन गरिन्छ। बैठकलमा कार्यक्रमलाई कसरी भव्य र सभ्यरूपमा सफल पार्न सकिन्छ भन्नेबारे छलफल गर्दै सबै विभागलाई दिएको जिम्मेवारी इमान्दारपूर्वक निर्वाह गर्नुपर्ने सुझाउ दिए। यस अवसरमा पुलिस महानिर्देशक, विभागका प्रमुखहरू, सम्बन्धित विभागका वरिष्ठ अधिकारीहरूलगायत आइटीबीपीका अधिकारीहरू पनि उपस्थित थिए।