यहाँबाट दैनिक धेरै गाडीहरु कुद्ने भएकाले राष्ट्रिय राजमार्ग झट्टै मरमत्ति गरिनु पर्ने स्थानीयहरुको माग
खरसाङ: महानदी ग्राम पञ्चायत अन्तर्गत तिरसठ लाइनको पैह्रोमा शनिबार बिहान एउटा गाडी दुर्घटनाग्रस्त भएको छ। राष्ट्रिय राजमार्ग ११० अन्तर्गत महानदी तिरसठ लाइनमा गत वर्ष ३० जून २०२४ मा गएको पैह्रोले राष्ट्रिय राजमार्ग ११० को सडक नै लगेपछि अस्थायी रुपमा निर्माण गरिएको बाटो भएर गाडीहरु कुदिरहेको थियो भने गत ४ अक्टोबरको राती रोहिणी रोडमा पैह्रो गएर रोड बन्द भएपछि राष्ट्रिय राजमार्ग ११० अन्तर्गत महानदीको तिरसठ लाइनको पैह्रोमा अस्थायी रुपमा बनाइएको बाटो भएर नै दैनिक रुपमा धेरै गाडीहरु कुद्न थालेपछि धेरै समस्या भईरहेको थियो। शनिवार बिहान लगभग ६:३० बजीतिर यस पैह्रो क्षेत्रमा दार्जिलिङबाट सिलगढी गईरहेको वेगेनर गाडी दुर्घटना हुँदा पैह्रोबाट ६ फिट तल झरेको महानदी ग्राम पञ्चायतको प्रधान पासाङ शेर्पाले जानकारी गराएका छन्। उनले बताए अनुसार ६ माइलबाट उपचारको लागि सिलगढी गईरहेको बेला यहाँ दुर्घटनाग्रस्त बनेको र क्रेङ आएर स्थानीयहरुको सहयोगमा गाडी निकालिएको बताएका छन्। यस पैह्रो क्षेत्रमा राष्ट्रिय राजमार्गको सडक झट्टै मरमत्ति गरिनु पर्ने देखिएको छ। अहिले रोहिणी रोड बन्द भएको कारणले यही रोड भएर लगातार रुपमा गाडीहरु कुद्ने भएकोले यो अस्थायी रुपमा बनाइएको बाटो पनि दबिन सक्ने सम्भावना देखिएको छ। यस पैह्रो क्षेत्रमा शनिवार बिहान गाडी दुर्घटना भएपछि तिरसठ गाउँ समाज महानदीको तर्फबाट तयार पारिएको ज्ञापन पत्रमा महानदी ग्राम पञ्चायतको प्रधानबाट सिफारिस (अनुमोदन ) गरेर खरसाङ ट्राफिक पुलिस प्रभारी बीरेन्द्र छेत्रीलाई सुम्पेका छन्। ज्ञापन पत्रमा महानदीको तिरसठ लाइनमा रहेको पैह्रो क्षेत्र भएर धेरै गाडीहरु कुद्ने भएकाले यहाँ एकजना ट्राफिक पुलिस दिनु माग पनि राखिएको छ। समस्या विषयमा समाजको टोलीले जानकारी गराएका छन्। यस टोलीमा तिरसठ गाउँ समाज महानदीको तर्फबाट सचिव रमेश शंकर, कार्यकारी सदस्य पेम्बा तामाङ र महनदी ग्राम पञ्चायतको प्रधान पासाङ शेर्पा रहेका थिए। उक्त ज्ञापनपछि ट्राफिक पुलिस प्रभारी बीरेन्द्र छेत्रीले महानदीको तिरसठ लाइनमा रहेको पैह्रो क्षेत्रमा सोमबारदेखि ट्राफिक पुलिस दिने आश्वासन दिएको जानकारी प्राप्त भएको छ। यसको साथै यस पैह्रोको बाटो विषयमा महानदी ग्राम पञ्चायत प्रधान पासाङ शेर्पाले दार्जिलिङ हिमालयन रेलवेको निर्देशक रिशप चौधरीलाई पत्र मेल गरेर पठाएको पनि जानकारी गराएका छन्। यस घटना विषयमा पत्रकारहरुसित कुराकानी गर्दै महानदी ग्राम पञ्चायतको पञ्चायत प्रधान पासाङ शेर्पाले महानदीको तिरसठ लाइनमा गएको पैह्रोमा बनाइएको अस्थायी बाटोमा अहिले दैनिक रुपमा धेरै गाडीहरु कुद्ने गरेकोले निक्कै खतरा भएको त यो पैह्रो क्षेत्रमा झट्टै मरमत्ति गरिनु पर्ने माग गरेका छन्। उनले विगत ३० जून २०२४ मा गएको पैह्रोले तिरसठ लाइनको खतियान नम्बर भएको जमीनका चारवटा परिवारहरुलाई विस्थापित पारेको र राष्ट्रिय राजमार्ग १६ महिनादेखि पैह्रोले प्रभावित हुँदा पनि मरमत्तिको कार्य नभएकोमा आचार्य प्रकट गरेका छन्। उनले यो पैह्रो झट्टै मरमत्ति गरिनु पर्ने आवश्यकता देखिएको पनि बताएका छन्।

यस क्षेत्रको जनताको पक्षमा पञ्चायत प्रधान पासाङ शेर्पाले ग्राम पञ्चायतको तर्फबाट गर्नु पर्ने सबै काम भईसकेको र यो पैह्रोले प्रभावित रोडको झट्टै मरमत्ति हुनु पर्ने माग गरेका छन्। उनले यो पैह्रोमा अस्थायी रुपमा बनाइएको बाटो भएर दैनिक धेरै गाडीहरु कुद्ने भएकाले पानी परेको खण्डमा कुनै पनि समय रेलको लिगसितै तान्ने सम्भावना प्रशस्त रहेकोले स्थानीयहरुको हितमा झट्टै काम हुनु पर्ने माग गरेका छन्।