२५ सेप्टेम्बरः ईंग्ल्याण्ड विरुद्ध वनडे सीरीजको तेस्रो तथा अन्तिम म्याचमा भारतीय महिला क्रिकेट टीमकी दिग्गज पेस बलर झूलन गोस्वामी अन्तिमपल्ट अन्तर्राष्ट्रिय म्याच खेल्न मैदानमा ओर्लिन्। यस म्याचमा टीम इण्डियाले ईंग्ल्याण्डलाई १६ रनले पराजित गरी झूलनलाई यादगार बिदाई दियो। भारतीय टीमकी सीनियर खेलाड़ीहरूले म्याचपछि झूलनलाई काँधमा बोकेर मैदान परिक्रमा गराइन्। त्यस दृष्यले महान क्रिकेटर सचिन तेन्दुलकरको बिदाई क्षणको याद पनि ताजा भयो। यसरी नै म्याचअघि भारतीय खेलाड़ीहरू मात्र नभएर विपक्षी टीम ईंग्ल्याण्डकी खेलाड़ीहरूले पनि भारतकी यस दिग्गज पेस बलरलाई गार्ड अव् अनर दिइन्। झूलनको निम्ति करियरको अन्तिम म्याचको क्षणहरू अविस्मरणीय र निक्कै भावुक रह्यो। म्याचमा टसको अवधि पनि हरमनप्रीत कौरले झूलनलाई मैदानमा लगिन्। यस अवधि हरमनप्रीतलाई पनि भावुक देखियो। झूलनले आफ्नो २० सालको अन्तर्राष्ट्रिय करियरमा भारतको निम्ति १२ वटा टेस्ट, २०४ वटा वनडे र ६८ वटा टी२० अन्तर्राष्ट्रिय म्याचमा हिस्सा लिइन्। टेस्टमा झूलनले ४४ विकेट अनि वनडेमा २५५ विकेट हासिल गरिन्। यसरी नै टी२० अन्तर्राष्ट्रियमा उनको नाममा ५६ विकेट रहेको छ।

तीनवटा म्याचको वनडे सीरीजको अन्तिम म्याचमा भारतले पहिला ब्याटिंग गऱ्यो। टीमले ब्याटको साथ खास केही गर्न सकेन अनि ४५.५ ओभरमा १६९ रन बनाएर अलआउट भयो। दीप्ति शर्माले ६८ र स्मृति मन्धनाले ५० रन बनाइन्। झूलनले पनि ब्याट गर्ने मौका पाइन् तर उनी खाता नखोली आउट भइन्। ब्याटको साथ फेल भए पनि झूलनले आफ्नो अन्तिम म्याचमा बलको साथ चाहिँ चमत्कारी प्रदर्शन गरिन्। झूलनले आफ्नो १० ओभरमा ३० रन खर्च गरी २ विकेट हासिल गरिन्। यसरी नै अन्य एक पेस बलर रेणुका सिंहले १० ओभरमा २९ रन खर्च गरी ४ विकेट हासिल गरिन्। यसैकारण ईंग्ल्याण्डको टीम ४३.४ ओभरमा १५३ रन बनाएर अलआउट भयो।

म्याचको अन्तिम विकेट रोचक रह्यो। ईंग्ल्याण्डको निम्ति लड़ाइँ जारी राख्ने चार्ली डीनलाई दीप्ति शर्माले मांकडिंग (बलरले बल नगरी नन् स्ट्राईकर प्रान्तमा क्रीज छोड़्दा ब्याटरलाई गरिने रन आउट) गरी आउट गरिन्। यस जीतको साथै भारतले तीनवटा म्याचको वनडे सीरीज पनि ३-०-ले क्लीन स्वीप गऱ्यो। भारतले ईंग्ल्याण्डको माटोमा वनडे सीरीज क्लीन स्वीप गरेको यो पहिलोपल्ट हो। म्याचमा ४ विकेट हासिल गर्ने रेणुका सिंहलाई प्लेयर अव् द म्याच चयन गरियो। यसरी नै तीनवटा म्याचमा २२१ रन बनाउने हरमनप्रीत कौरले प्लेयर अव् द सीरिज चयन गरियो।