सोनादा: शैक्षिक सत्र २०२५-२६ का लागि नयाँ भर्ना भएका प्रथम सत्रका विद्यार्थीहरूको लागि तेस्रो र पाँचौं सत्रका विद्यार्थीहरूले स्वागत समारोह कलेजको प्रेक्षागृहमा कलेजका शिक्षक प्रभारी डा प्रमोद छेत्रीको अध्यक्षतामा एवं नेताजी नगर डे कलेज, काेलकत्ताका प्राध्यापक उमा भट्टाचार्यको प्रमुख आतिथ्यमा स्वागत समारोह सम्पन्न गरियो। तेस्रो र पाँचौं सत्रका विद्यार्थीहरूले विभिन्न गीत र नृत्यहरु प्रस्तुत गरेर पहिलो सत्रमा नयाँ भर्ना भएका विद्यार्थीहरूलाई हार्दिक स्वागत जनाए।
प्रथम सत्रका विद्यार्थीहरुद्वारा प्रस्तुत गरिएका विभिन्न प्रकारका प्रतिभाहरुलाई हेरेर निर्णायक निर्णायिकाहरू प्रा. सुशिला बराइली, प्रा. विशाल थापा, प्रा. रतिका सुब्बा, प्रा. अनिल विश्वकर्मा, प्रा. इलोरा शर्मा आदिले मूल्याङ्कन गरेपश्चात सर्वश्रेष्ठ अङ्क ल्याउने निहाल छेत्रीलाई मिस्टर फ्रेसर र याङ्चु तामांगलाई मिस फ्रेसरको रुपमा घोषणा गरी उनीहरुलाई स्मृति चिन्ह र पुरस्कारहरू प्रदान गरिएको थियो।

गत ४ अक्टोबरको राती आएको अति वृष्टिले विभिन्न ठाउँमा पुर्याएको जन-धनको क्षतिप्रति समवेदना एवं मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण गरी स्वागत समारोह आरम्भ गरिएको थियो। छोटो समयको अभ्यासमा पनि विद्यार्थीहरूले स्वागत समारोहलाई सफलतापूर्वक सम्पन्न गरेकोमा सांस्कृतिक कमिटीका संयोजक प्रा. मेघनाथ छेत्री लगायत शिक्षक प्रभारी डा. प्रमोद छेत्रीले विद्यार्थीहरूलाई धन्यवाद दिएका थिए। कलेजका विद्यार्थीहरुको प्रतिभा र कलेजको सुन्दर परिवेश देखेर प्रमुख अतिथि प्रोफेसर उमा भट्टराईले आफ्नो सम्बोधनमा प्रशंसा गर्दै यस्ता प्रतिभाशाली विद्यार्थीहरूले अध्ययनको क्षेत्रमा पनि अझ मेहनत गरे धेरै सफलता हासिल गर्न सक्ने उनले विचार व्यक्त गरिन्।