गेजिङ: देन्ताम पीएमश्री विद्यालयको शताब्दी उत्सवको सातौं दिन आज विविध कार्यक्रमसहित भव्य रूपमा सम्पन्न भयो। कार्यक्रमका मुख्य अतिथि सिक्किम सरकारका सडक तथा पुल विभागका मन्त्री नरबहादुर दाहाल मुख्य अतिथिका रुपमा उपस्थित थिए। साथमा शताब्दी उत्सव समितिका प्रमुख संरक्षक तथा क्षेत्र विधायक सुदेशकुमार लिम्बू, आयोजक समितिका अध्यक्ष एवं जिल्ला पञ्चायत दिनेश गुरुङ विद्यालयकी प्रधानाध्यापक राज्यश्री लिम्बू, शिक्षक, विद्यार्थी तथा समितिका सदस्यहरूको उपस्थित थियो। कार्यक्रम शुरु हुनअघि मुख्य अतिथि लगायतको टोलीले विद्यालय परिसरमा जारी विज्ञान र कला प्रदर्शनीको भ्रमण गरे। विद्यार्थीहरूले आफ्ना सिर्जनात्मक परियोजनाहरू प्रदर्शन गरेका थिए। मुख्य अतिथि दाहालले विद्यालयलाई शताब्दीको महत्वपूर्ण उपलव्धिका लागि बधाई दिँदै गुणस्तरीय शिक्षाको योगदानको प्रशंसा गरे। १९२५ मा विद्यालय स्थापनाको स्मरण गर्दै उनले कठिन समयमा पनि शिक्षाको जग राख्ने संस्थापकहरूको दूरदर्शिता र समर्पणको सम्मान व्यक्त गरे। कार्यक्रमको दोस्रो सत्रमा खेलकूद प्रतियोगिताहरू सम्पन्न भएका थिए। पुरुष फुटबल प्रतियोगिताको क्वार्टर फाइनलमा सीटीएफसी र कर्मटार मेगा बोयजबीच खेल भएको थियो। जसमा मेगा बोयज मुकरुङले तीन–एकको गोल अन्तरले विजय प्राप्त गर्दै सेमीफाइनलमा स्थान सुरक्षित गऱ्यो।