मंगन: राज्यपाल ओमप्रकाश माथुरले आज मंगन जिल्लाका विभिन्न स्थलको भ्रमण गरे। भ्रमणको क्रममा राज्यपालले राज्य सरकारद्वारा शुरू गरिएका विभिन्न प्रकारको योजना कार्यावन्यनबारे जानकारी लिए। मंगन जिल्लाको जिल्ला प्रशासनिक केन्द्रमा आयोजित कार्यक्रममा राज्यपालले योजनाहरुबारे जायजा लिए। राज्यपाल मंगन पुग्ने क्रममा लाचेन मंगन निर्वाचन क्षेत्रका विधायक तथा मन्त्री साम्डुप लेप्चा, मेडिसनल प्लान्ट बोर्डका अध्यक्ष सोनाम ग्याछो लाचेन्पा, जिल्लापाल अनन्त जैनलगायत अन्य अधिकारीहरूले स्वागत जनाएका थिए। यस अवसरमा राज्यपाल माथुरले राज्य सरकारद्वारा शुरू गरिएका विभिन्न प्रकारको योजना कार्यान्वयनबारे जानकारी लिँदै यसलाई प्रभावकारी ढङ्गमा कार्यान्वयन गर्नुपर्ने निर्देश दिए। राज्यपालले सीमा सडक संगठनले उत्तर जिल्लाअन्तर्गत पर्ने राष्ट्रीय राजमार्ग सुधारको निम्ति गरेको पहलबारे पनि जायजा लिए। यसका साथै उनले उत्तर जिल्लाको भाइब्रेन्ट भिलेजअन्तर्गत जिल्ला प्रशासनले लिएको पहलबारे पनि चर्चा परिचर्चा गरे। राज्यपालले उत्तर जिल्लाको विकासको निम्ति आफ्नो तर्फबाट सबै प्रकारको सहयोग प्रदान गर्ने आश्वासन दिए। सोही प्रकारले क्षेत्र विधायक लेप्चाले उत्तर जिल्लाको भ्रमणको निम्ति राज्यपाललाई धन्यवाद दिए। उल्लेखनीय छ, राज्यपाल माथुरले सिक्किम राज्यको राज्यपालकोरूपमा शपथग्रहण गरेपछि यसरी चौथोपल्ट भ्रमण गरेका हुन्। यसभन्दा अघि राज्यपालले २०२३ मा आएको टिस्टाको विनाशकारी बाढ प्रभावित समयमा भ्रमण गरेका थिए। राज्यपालको सहयोगमा चुङथाङलाई पूननिर्माण गर्न सफल भएको बताए।