दार्जिलिङ: आज भारतीय जनता पार्टी दार्जिलिङ जिल्ला अध्यक्ष श्री संजीव लामा, पोख्रेबुङ ग्राम पञ्चायत–२ की पञ्चायत सदस्य श्रीमती छेकी तामाङ, र पोख्रेबुङ–चामोङ मण्डल अध्यक्ष श्री अमित तामाङले पोख्रेबुङ वरपरका पैह्रो प्रभावित क्षेत्रहरूको स्थलगत भ्रमण गरेका छन्।
टर्जम चियाबगानका पचपन हट्टा, गोदाम गाउँ, समरीपानी–१५ नम्बर र १७ नम्बर क्षेत्रमा पुगेर उनीहरूले स्थानीय प्रभावित परिवारहरूसँग भेटघाट गरी अवस्थाबारे जानकारी लिएका थिए।
जिल्ला अध्यक्ष श्री संजीव लामाले भ्रमणका क्रममा भने, “विशेषगरी समरीपानीको १५ नम्बर गाउँलाई पैह्रोले गम्भीर रूपमा क्षति पुर्याएको छ। त्यहाँका बासिन्दाहरूलाई थप जोखिमबाट जोगाउनका लागि तत्काल सुरक्षित स्थानमा सार्नु अत्यावश्यक देखिन्छ,” भन्दै सम्बन्धित निकायलाई तत्काल ध्यान दिन आग्रह गरेका छन्।
भारी वर्षा र निरन्तर पैह्रोका कारण यस क्षेत्रका स्थानीय बासिन्दाहरू आतंकित बनेका छन्। भाजपा टोलीले प्रभावितलाई राहत तथा पुनर्वासका लागि सबै तहका सरकारसँग समन्वय गरी आवश्यक पहल गर्ने प्रतिबद्धता जनाएको छ।