खरसाङ: तीनधारे पास्टोरेट चर्च अफ् नर्थ ईण्डियाको आयोजनामा विद्यार्थीहरुलाई लिएर विभिन्न विषयमा एक दिवसीय सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रममा सभाध्यक्षको रुपमा तीनधारे पास्टोरेटका इन्चार्ज रेभरेन्ट राजेन केरकेटा उपस्थित रहेका थिए भने प्रमुख अतिथिको रुपमा तीनधारे महानदी समष्टिको सभासद नवराज छेत्री उपस्थित रहेका थिए। कार्यक्रममा ‘बालबालिकाको पढाई र अभिभावकत्वमा सोसियल मिडियाको प्रभाव’ अनि ‘साईबर सुरक्षा र करियर मार्ग दर्शन’ आमन्त्रित स्रोत वक्ताहरुले सचेतना गराएका छन्। तीनधारे पास्टोरेटकी सचिव एवं आईएनए मेमोरियल हाई स्कूलकी प्रधान अध्यापिका रुथरानी राईले सञ्चालन गरेको कार्यक्रममा स्वागतको कार्यक्रम विजयादान गुरुङले गरेकी थिइन् भने औपचारिक स्वागत सम्भाषण मार्थारानी राईले राखेकी थिइन्। कार्यक्रममा स्वागत गीत चर्चको समूहबाट प्रस्तुत गरिएको थियो। यसै कार्यक्रममा सर्वप्रथम बालबालिकाको पढाई र अभिभावकत्वमा सोसियल मिडियाको प्रभाव विषयमा कालेबुङबाट आएका सामाजिक कार्यकर्ता एंव दिशा कालेबुङका निर्मल छेत्रीले विद्यार्थी नानीहरु र अभिभावकहरुलाई सचेतना गराएका थिए। उनले विद्यार्थी नानीहरुमा सोसियल मिडियाको प्रभाव साथै यसको सदुपयोग र समयको सदुपयोग विषयमा रोचक ढंगले सचेतना गराएका थिए। त्यसरी नै ‘साईबर सुरक्षा र करियर मार्ग दर्शन’ मा सन्त जोसेफ कलेज दार्जिलिङका प्राध्यापक प्रवीण मुखिया टाइटमसले सचेतना गराएका थिए। उनले साईबर सुरक्षा र करियर गाइडनेस विषयमा विद्यार्थीहरुलाई सचेतना गराएका थिए। कार्यक्रममा उपस्थित आमन्त्रित स्रोत वक्ताहरुलाई आयोजक समितिको तर्फबाट सम्मान जनाइएको छ। कार्यक्रममा तीनधारे महानदी समष्टिको छवटा विद्यालयहरुका विद्यार्थीहरु, अभिभावकहरु र शिक्षक शिक्षिकाहरु उपस्थित रहेका थिए। कार्यक्रमको शुरुवात रेभरेन्ट राजेन केरकेटाको शुरुको प्रार्थनाद्वारा थालिएको थियो भने अन्तिम प्रार्थना पनि उनले नै गरेका थिए।

कार्यक्रममा धन्यवाद ज्ञापन एल्डर मसीह प्रकाश मोक्तानले राखेका थिए। यस एक दिवसीय सचेतनामूलक कार्यक्रम विषयमा पत्रकारहरुसित कुराकानी गर्दै तीनधारे पास्टोरेटकी सचिव एवं आईएनए मेमोरियल हाई स्कूलकी प्रधान अध्यापिका रुथरानी राईले विस्तृत रुपमा जानकारी गराएकी छन्।