सागरको गहिराइका रहस्य पत्ता लगाउनेछ ध्वनि

GRSE_Logo

जीआरएसईको नयाँ एआरएस परियोजना

कोलकाता: भारतको गार्डन रीच शिपबिल्डर्स एण्ड इन्जिनियर्स लिमिटेड (जीआरएसई) ले आत्मनिर्भर भारत अभियान अन्तर्गत रक्षा अनुसन्धान तथा विकास संगठन (डीआरडीओ) को नेभल फिजिक्स एण्ड ओशनोग्राफी ल्याबोरेटरी (एनपीओएल) का लागि एक अत्याधुनिक ध्वनिक अनुसन्धान पोत (एआरएस) को कील राखेको छ।
यस अवसरमा मुख्य अतिथि डा. समीर भी. कामत, सचिव (रक्षा अनुसन्धान तथा विकास) र अध्यक्ष, डीआरडीओ उपस्थित थिए। साथै जीआरएसईका अध्यक्ष एवं प्रबन्ध निर्देशक कमोडोर पी. आर. हरी, एनपीओएलका निर्देशक डा. डी. शेषागिरि, र अन्य वरिष्ठ अधिकारीहरू पनि उपस्थित थिए।
नयाँ एआरएस ९३ मिटर लामो र १८ मिटर चौडाइको हुनेछ। यसमा अत्याधुनिक ध्वनिक उपकरण जडान गरिनेछ र यो ४ देखि १२ नटको गतिमा सञ्चालन गर्न सक्षम हुनेछ। अधिकतम गतिमा, पोतले ३० दिन वा करिब ४,५०० नौटिकल माइल यात्रा गर्न सक्नेछ। पोतमा कुल १२० जना कर्मचारी कार्यरत रहनेछन्।
एआरएसले विभिन्न ध्वनिक मोड्युल जस्तै उपकरणको तैनाती, टोइङ र रिकभरी, ध्वनि वेग प्रोफाइलको उच्च-रिजोल्युसन सर्वेक्षण, महासागरीय ज्वार/धारा डेटा सङ्कलन र अन्डरवाटर परीक्षण कार्यहरू गर्न सक्षम हुनेछ। यसमा डायनामिक पोजिसनिङ सिस्टम पनि हुनेछ, जसले यसलाई समुद्री अवस्था ४ सम्म आफ्नो स्थिति कायम राख्न सहयोग गर्नेछ।
पोतमा डीजल–इलेक्ट्रिक प्रणोदन प्रणाली रहनेछ र तीनवटा डेक क्रेन अनुसन्धान उपकरण सञ्चालनको लागि जडान गरिनेछ। यसको विस्तृत गति सीमा यसलाई ध्वनिक प्रणाली परीक्षणको क्रममा विभिन्न गति स्तरमा सञ्चालन गर्न सक्षम बनाउनेछ। साथै, पोतले संचालनको क्रममा ध्वनि रहित वातावरण कायम राख्न पनि सक्षम हुनेछ।
जीआरएसईले पहिले पनि नौसेनाका लागि आईएनएस सागरध्वनि सहित धेरै अनुसन्धान पोत निर्माण गरिसकेको छ। १९८० र १९९० को दशकमा नौसेनाका लागि पहिलो श्रृंखलाका सर्वे पोतहरू निर्माण गरिसकेको यो कम्पनीले १९९४ मा एनपीओएलका लागि आईएनएस सागरध्वनि बनाएको थियो। सागरध्वनि हाल पनि सेवा मा छ र हालै यसलाई पुनर्निर्माण र उन्नयनका लागि जीआरएसई फर्किएको थियो।
डा. कामतले भने, “१९९४ मा निर्मित सागरध्वनि ३१ वर्षसम्म उत्कृष्ट सेवा दिएको छ। अब यो नयाँ पोत सागरध्वनि भन्दा पनि धेरै सक्षम र अत्याधुनिक हुनेछ। मलाई विश्वास छ कि जीआरएसईले निर्धारित समयसीमा भित्र यो चुनौती सफलतापूर्वक पूरा गर्नेछ।”
कमोडोर पी. आर. हरीले पूर्व राष्ट्रपति डा. ए. पी. जे. अब्दुल कलामको ९४औँ जयन्तीमा श्रद्धाञ्जली अर्पण गर्दै शिपयार्डले विभिन्न प्रकारका आधुनिक जहाज निर्माणमा गरिरहेका प्रयासहरूमा प्रकाश पारे। उनले भने, “यो परियोजनाले भारतको समुद्री अनुसन्धान क्षमतालाई नयाँ युगमा लैजानेछ।”

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement