गेजिङ: देन्ताम पीएमश्री वरिष्ठ माध्यमिक विद्यालयको शतवार्षिकी उत्सवको आज छैटौं दिनको अवसरमा विविध कार्यक्रमबीच सम्पन्न भयो। यसअवसरमा सिक्किमका लोकसभा सांसद इन्द्राहाङ सुब्बा मुख्य अतिथिका रुपमा उपस्थित थिए। कार्यक्रमका प्रमुख संरक्षक तथा क्षेत्र विधायक सुदेशकुमार सुब्बा विशिष्ट अतिथिका रुपमा उपस्थित थिए।
मुख्य अतिथि सांसद सुब्बाले दीप प्रज्वलन गर्दै समारोहको औपचारिक उद्घाटन गरे। यसबीच विद्यालयका विद्यार्थीहरूले रंगारंग सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत गरे। आफ्नो सम्बोधनमा सांसद सुब्बाले विद्यालयको शताब्दी उत्सवमा सहभागी हुन पाउनु गौरवको विषय हो भन्दै शताब्दी केवल समयको सङ्ख्या मात्र नभएर इतिहास र समर्पणको प्रतीक रहेको बताए। एसकेएम सरकारले शिक्षालाई पहिलो प्राथमिकतामा राखेको उल्लेख गर्दै आज हरेक बालबालिकालाई आफ्नो सपना पुरा गर्ने अवसर दिएको बताए। अब डाक्टर, इन्जिनियर र पाइलट बन्ने सपना गरिबीले रोक्न नसक्ने बताए। सांसद सुब्बाले शिक्षित बेरोजगार युवाहरूलाई व्यवसायमुखी कार्यक्रममार्फत आत्मनिर्भर बनाउने सरकारको योजनाको पनि उल्लेख गरे। कार्यक्रमलाई अझ आकर्षक बनाउन विद्यालय परिसरमा खुल्ला फुटबल प्रतियोगिता शुरु गरियो। प्रतियोगितामा विजेता टोलीलाई ३ लाख, उपविजेतालाई २ लाख र आकर्षक ट्रफी प्रदान गरिनेछ। कार्यक्रममा गेजिङ जिल्लापाल तेन्जिङ डी डेन्जोङ्पा, जिल्ला पञ्चायत उपाध्यक्ष अनिता राई, जिल्ला सदस्यहरू, ग्राम पञ्चायत प्रतिनिधिहरू, शिक्षक भर्ती बोर्डका सदस्यहरुको उपस्थिति रहेको थियो।