पाकिम: भारत सरकारको ध्वाजवाहक कार्यक्रमअन्तर्गत प्रधानमन्त्री फसल बीमा योजनामाथि खण्डस्तरमा सचेतना एवं उपकरण वितरण कार्यक्रम सम्पन्न भयो। जसको थिम मेरी पोलिसी मेरो हात रहेको थियो। उक्त कार्यक्रम पाकिम जिल्लाको पारखा खण्ड अन्तर्गत ग्राम प्रशासन केन्द्रमा सम्पन्न भएको थियो। यस कार्यक्रमको उद्देश्य स्थानीय कृषकहरूलाई फसल बीमामाथि सचेत गराउनका साथै योजनाको नीतिबारे जानकारी गराउनु थियो। कार्यक्रममा मुख्य अतिथि पञ्चायत अध्यक्ष चन्द्रकला शर्माले योजना कार्यान्वयबारे प्रकास पारे। उक्त अवसरमा कृषि एवं बागवाणी विभागका अधिकारीहरूले कार्यक्रमबारे बोल्दै प्रधानमन्त्री फसल बीमा योजनाअन्तर्गत प्राप्त विभिन्न प्रकारको लाभ र प्रक्रियाबारेमा जानकारी गराए। सोही प्रकारले नाम्ची जिल्लाको तुरूक रामाबोङ ग्राम पञ्चायत यूनिटमा पनि कृषि विभागको पहलमा खण्डस्तरीय कार्यक्रम आयोजन गरियो। कार्यक्रमअन्तर्गत प्रधानमन्त्री फसल बीमा योजनालाई लिएर सुम्बुक खण्डबासीलाई जागरुकता गराइएको थियो। तुरूक जीपीयूको ग्राम प्रशासन केन्द्रमा कृषकहरूलाई लिएर एक सचेतना कार्यक्रममार्फत लाभार्थीहरूलाई पीएमएफबीवाईको निम्ति आवश्यक कागजपत्र जाँच बारे जानकारी दिइयो। उक्त कार्यक्रममा पञ्चायत अध्यक्ष सरस्वती मंगर मुख्य अतिथिकोरूपमा उपस्थित रहेकी थिइन् भने विशिष्ट अतिथिकोरूपमा पञ्चायत उपाध्यक्ष रूपबहादुर प्रधान रहेका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै कृषि विभागका उपनिर्देशक वाङग्याल लेप्चाले प्रधानमन्त्री फसल बीमा योजनाको महत्व र प्राकृतिक प्रकोपबाट हुने बाली क्षति न्यूनीकरणमा यसको भूमिका र न्यूनतम प्रिमियम संरचना मार्फत किसानहरूको वित्तीय सुरक्षा सुनिश्चित गर्ने सरकारको प्रयासहरूमाथि प्रकाश पारे। कृषकहरूलाई योजनाको लाभ उठाउने आग्रह गरे। सोही प्रकारले जेनेराली सेन्ट्रल इन्स्योरेन्स कम्पनीका संयोजक सुचन दर्जीले कृषकहरूलाई योजनाबारेमा जानकारी गराए। यसरी नै राजीब प्रधानले कृषि क्षेत्रमा जलवायु परिवर्तनको प्रभाव र जोखिम न्यूनीकरण उपायकोरूपमा बाली बीमा अप्नाउनुपर्ने बताए। मुख्य अतिथि सरस्वती मंगरले सम्वन्धित विभागको प्रयासको प्रशंसा गर्दै कृषकहरूलाई कृषि दिगोपन र सुरक्षामा लक्षित सरकारद्वारा प्रायोजित योजनाहरूको पूर्ण लाभ लिन आग्रह गरिन्।