सोरेङ: जोर्जन एफसी कालेबुङले सिक्किम ड्र्यागन एफसीलाई शुन्यको विरुद्ध दुई गोलले परास्त गर्दै तेस्रो मिनिस्टर फुटबल टुर्नामेन्टको अघिल्लो चरणमा प्रवेश गरेको छ। आज खेलिएको अत्यन्तै रोमाञ्चक खेलमा जोर्जनले क्वाटरफाइनलको लागि स्थान पक्का गरेको हो। खेलको पहिलो हाफ गोलरहित टुंगियो। तर, दोस्रो हाफको खेलमा जोर्जनले सठिक तालमेलको साथमा दमदार खेल प्रदर्शन गर्दै प्रतिद्वन्द्वी दल ड्र्यागन एफसी सिक्किम विरुद्ध जोडी गोल गर्न सफल भए थिए। आजको खेलमा उत्कृष्ट खेलाडी जोर्जन एफसी कालेबुङका प्रदिप बुढाथोकी (९) बने। यहाँ दरमदिन खेलकुद संघ (डीकेकेएस)-को तत्वावधानमा सोमबारे स्कूलको खेलमैदानमा भइरहेको मिनिस्टर गोल्डकप फुटबल टुर्नामेन्टको तेस्रो संस्करण अन्तर्गत दोस्रो दिनको कार्यक्रममा सिक्किम राज्य ब्याङ्कका अध्यक्ष डीबी गुरुङ प्रमुख अतिथिको रूपमा उपस्थित थिए। यसरी नै सिक्किम राज्य अनुसूचित जनजाति कल्याण बोर्डका अध्यक्ष पीके सुब्बा, सिक्किम राज्य सहकारिता ब्याङ्क लिमिटेड (सिसको) का सल्लाहकार सीएम शर्मा, सिक्किम राज्य चालक कल्याण बोर्डका अध्यक्ष सोनाम वाङ्डुप भोटिया, क्षमता विकास बोर्डका अध्यक्ष मिङ्मा लमू शेर्पा, ओएसडी एमके राई, स्टेट ब्याङ्क अफ् सिक्किमका सीजीएम एसआर कार्की, स्टेट ब्याङ्क अफ् सिक्किमका सिनियर मेनेजर राब्देन भोटिया, एजीएम नन्दु छेत्री, वन विभागका रेन्जर विनोद छेत्री, सिसको ब्याङ्क मेनेजर हिसे तामाङ, एआरसीएस शिशिर राज गुरुङ, सरकारी ठेकेदार प्रेम गुरुङ, जिल्ला तथा ग्राम पञ्चायतगण, दरमदिन खेलकुद संघका अध्यक्ष लाखहाङ सुब्बा साथै सम्पूर्ण सदस्यगण, सीएससी अध्यक्ष टीका हाङ सुब्बा, युवा संयोजक रमेश गुरुङ, विभागीय अधिकारीगण, संघ-संस्था र नागरिक समाजका प्रतिनिधिगण, आमन्त्रित अतिथि र खेलप्रेमि दर्शकहरुको बाक्लो उपस्थित रहेको थियो। उल्लेख्य, यस प्रतिष्ठित मिनिस्टर गोल्डकप टुर्नामेन्टमा सिक्किम राज्य र बाहिरका आठवटा स्थापित क्लबहरुले अंशग्रहण गरेका छन्। ती क्लबहरु हुन्- सिक्किम आक्रमण, रेड पाण्ड एफसी नाम्ची, जोर्जन एफसी कालेबुङ, सिङलिङ स्पोर्टिङ क्लब, डीकेकेएस सोमबारे, केएफसी सिलगढी, जयस्वाल ब्रदर्स रम्फु र सिक्किम ड्र्यागन एफसी सिक्किम। टुर्नामेन्टका विजेता दललाई ५ लाख एक हजार र उपविजेता दललाई ३ लाख एक हजार रुपियाँसहित आकर्षक ट्रफी प्रदान गरिने भएको छ। टुर्नामेन्टको समापन २० अक्टोबरको दिन हुने छ।