गेजिङ: मत्स्यपालन विभागको पहलमा जनजाति र अनुसूचित जातिका लाभार्थीहरूलाई लिएर एक दिवसीय प्रशिक्षण कार्यक्रम आयोजना गरियो। विशेष गरेर ट्राइबल सब प्लान र राष्ट्रीय मतस्य विकास बोर्ड हैदरावादको संयुक्त पहलमा योक्सम टाशीडिङ निर्वाचन क्षेत्र अन्तर्गत गेरेथाङ ग्राम प्रशासन केन्द्रमा उक्त प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा मुख्य अतिथिकोरूपमा उपस्थित गेरेथाङ ग्राम पञ्चायत यूनिटकी अध्यक्ष शशी लुइँटेललगायत अन्य प्रतिनिधिहरुको उपस्थिति रहेको थियो। यस कार्यक्रमको उद्देश्य जनजाति र अनुसूचित जातिका माछापालकहरूलाई राज्य सरकारद्वारा शुरू गरेको विभिन्न प्रकारका योजनाबारे जानकारी गराउनु रहेको थियो। विशेष गरेर यी दुई जातिलाई आर्थिकरूपमा मजबुत बनाउने उद्देश्य लिएर आयोजित एक दिवसीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य अतिथि लुइँटेलले माछापालकहरूलाई राज्य सरकारको सम्बन्धित विभागद्वारा शुरू गरिएका विभिन्न प्रकारको योजनाहरू कार्यान्वयनबारे जानकारी गराए। यस कार्यक्रमको आयोजनले माछापालकलाई सचेत गराएको उल्लेख गर्दै विभागीय पहलको प्रशंसा गरिन्। यसरी नै अर्का अधिकारी लाहाङ लिम्बूले कृषि सम्वन्धि विभिन्न प्रकारका अवसर र यसलाई उपयोग गर्नुपर्ने विषयबारे सुझाउ दिए। उनले विशेष गरेर प्रधानमन्त्री मत्स्यसम्पदा योजनालगायत केन्द्र र राज्य सरकारद्वारा शुरू गरिएका विभिन्न प्रकारको योजनाबारेमा जानकारी गराए।