सोरेङ: दरमदिन समष्टिको सोमबारे विद्यालयको खेल मैदानमा आजदेखि तेस्रो मिनिस्टर गोल्डकप फुटबल प्रतियोगिता शुरू भयो। उक्त प्रतियोगिताको उद्घाटन विधायक एवं विद्युत विभागका सल्लाहकार सञ्जित खरेलले गरे। दरमदिन खेलकूद संघ (डीकेकेएस)-को तत्वावधानमा आयोजित प्रतियोगिताको उद्घाटन कार्यक्रममा सल्लाहकार खरेल मुख्य अतिथिकोरूपमा उपस्थित थिए। उनीसँग सिक्किम राज्य ब्याङ्कका अध्यक्ष डीबी गुरुङ, सिक्किम राज्य अनुसूचित जनजाति कल्याण बोर्डका अध्यक्ष पीके सुब्बा, सिक्किम राज्य सहकारिता ब्याङ्क लिमिटेड (सिसको)-का सल्लाहकार सीएम शर्मा, सिक्किम राज्य चालक कल्याण बोर्डका अध्यक्ष सोनाम वाङ्डुप भोटिया लगायत अन्यहरूको उपस्थिति रहेको थियो। यस प्रतियोगिताको खेल रेड पाण्डा एफसी बनाम सिक्किम आक्रमण एफसीबीच सम्पन्न भएको थियो, जसमा रेड पाण्डा एफसीले शुन्यको विरुद्ध ८ गोल गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ। खेल शुरु भएको ४१औं मिनटमा रेड पाण्डा नाम्चीका कप्तान सचिन प्रधानले उत्कृष्ट गोल गर्दै आफ्नो दललाई अघि बढायो। पहिलो हाफको खेलमा रेड पाण्डाले आक्रमण एफसी सिक्किममाथि एक गोलको बढत राख्दै खेल समापन भयो। दोस्रो हाफको खेलमा रेड पाण्डाले उत्कृष्ट खेल प्रदर्शन गर्दै एकपछि अर्को गोल थप्यो। अर्कोतिर खेलमा आक्रमण सिक्किमको कुनै रणनीति काम लागेन। एकतर्फी भीडन्तमा निर्धारित समय समाप्त हुँदा रेड पाण्डाले आक्रमण सिक्किमलाई शून्यकोविरूद्ध ८ गोलले पराजित गऱ्यो।
उल्लेख्य, यस प्रतिष्ठित मिनिस्टर गोल्डकप टुर्नामेन्टमा सिक्किम राज्य र बाहिरका आठवटा स्थापित क्लबहरुलाई आमन्त्रण गरिएको छ। ती क्लबहरु हुन्- सिक्किम आक्रमण, रेड पाण्ड एफसी नाम्ची, जोर्जन एफसी कालेबुङ, सिङलिङ स्पोर्टिङ क्लब सोरेङ, डीकेकेएस सोमबारे, केएफसी सिलगढी, जयस्वाल ब्रदर्स रम्फु र सिक्किम ड्र्यागन एफसी सिक्किम। टुर्नामेन्टका विजेता दललाई ५ लाख १ हजार र उपविजेता दललाई ३ लाख १ हजार रुपियाँसहित आकर्षक ट्रफी प्रदान गरिने भएको छ। उक्त प्रतियोगिताको समापन आगामी २० अक्टोबरको दिन हुने तय भएको छ।