पाकिम: वाणिज्य एवम उद्योग विभाग र टोपज प्रिन्ट अनि पब्लिकेसनको संयुक्त पहलमा फोटोग्राफीमाथि दुई महिनाव्यापी प्रशिक्षण शुरू गरियो। भारत सरकारको सूक्ष्म, लघु तथा मझौला उद्यम मन्त्रालयको एमएसएमई कार्ययोजना बढाउने र तीव्र पार्ने योजनाअन्तर्गत आजदेखि रम्फूस्थित एक रिसोर्टमा उक्त प्रशिक्षण शुरू भएको हो। उदघाटन कार्यक्रममा रम्फू नगर परिषदका पार्षद पिङकु कुमार प्रसाद अतिथिका रुपमा उपस्थित थिए। विशेष गरेर बेरोजगार युवाहरूलाई आत्मनिर्भर बनाउने उद्देश्य राखेर दुई महिनाव्यापी प्रशिक्षण कार्यक्रमको शुरू गरिएको हो। मुख्यमन्त्री प्रेमसिंह तामाङको एक परिवार एक उद्यामी बनाउने सोंचलाई यस प्रकारको योजनाले साकार तुल्याउने आशा व्यक्त गरिएको छ। उक्त प्रशिक्षण कार्यक्रममा कूल २० जनाले सहभागिता जनाएका छन्। शैक्षिक ज्ञानको एक भागकोरूपमा, सहभागीहरूलाई एक्सपोजरको निम्ति बाहिर लाने योजना रहेको छ। यसबाहेक, युवाहरूलाई फोटोग्राफीप्रति प्रोत्साहित गर्नको निम्ति फोटोग्राफी प्रतियोगिता पनि आयोजना गरिनेछ।
उक्त प्रतियोगितामा उत्कृष्ट प्रतियोगिहरूलाई थप सीप वृद्धिको लागि उन्नतस्तरको पाठ्यक्रमहरू प्रदान गरिनेछ। उदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै पाकिम जिल्लाका डीआईसी जिग्मी लेप्चाले सहभागीहरूलाई प्रशिक्षणको क्रममा प्रदान गरिएको ज्ञानलाई अवसरकोरूपमा लिनु पर्ने साथै यसलाई सृजना उत्पादनको निम्ति प्रयोग गर्नुपर्ने आग्रह गरे। विभागले उनीहरूको उद्यमशीलता यात्रालाई सहज बनाउन आवश्यक सहयोग प्रदान गर्ने आश्वासन दिए।