कालचिनी: साँझ प्रायः ६ बजी कालचिनी स्थित मोदी लाईनमा अचानक एउटा घरबाट सल्किएको आगोले भयावह रूप लिँदा प्रायः १५ वटा भन्दा अधिक घरहरू जलेर स्वाहा भएको छ।
घटनास्थलमा हेमिल्टनगञ्जबाट पुगेको एउटा दमकल इञ्जिनले पनि आगोमाथि नियन्त्रण गर्न नसक्दा हाँसीमारा वायुसेना लगायत जयगाउँ र अलिपुरद्वारबाट पुगेका ५ वटा दमकल इञ्जिनले मात्र उक्त आगोलाई नियन्त्रणमा ल्याउन सफल भएको थियो।
उक्त आगलागीको समय एक एक गर्दै ५ वटा ग्यास सिलिण्डर विस्फोट हुँदा झन परिस्थिति भयावह बनेको थियो भने संलग्न कालचिनी पिपलतला, झोड़ा लाईन र पेट्रोल पम्प लाईनबाट मानिसहरूले घरको ग्यास सिलिण्डर बोकेर कमानतर्फ भाग्न बाध्य भएको थियो।
प्रायः २ घन्टासम्म दमकल विभागका कर्मीहरूले भरमग्दुर प्रयास गरेर आगोलाई नियन्त्रणमा ल्याउन सफल भएतापनि मोदी लाईनका प्रायः २० भन्दा अधिक घरहरू जलेर भष्मिभूत बनेको स्थानीय बासिन्दाहरूले जनाएका छन। समाचार लेखुञ्जेल दमकल लगायत पुलिसबलको सहयोगितामा राहत कार्य चलिरहेको छ।










