पाकिम: पाकिम जिल्लाअन्तर्गत कार्थोकको बोझेटार खेल मैदानमा आजदेखि अन्तर सिक्किम दिपवाली फुटबल प्रतियोगिता शुरू भय़ो। यस प्रतियोगिताको उदघाटन शिक्षा एवं खेलकुद विभागका मन्त्री राजु बस्नेतले गरे। उक्त प्रतियोगिता गेम्बोसद्वारा आयोजना गरिएको हो भने मुख्य संरक्षक नाथाङ माछोङ निर्वाचन क्षेत्रकी विधायक एवं सामाजिक कल्याण विभाग साथै महिला, बाल, वरिष्ठ नागरिक अनि दिब्याङजन विभागकी सल्लाहकार पामिन लेप्चा हुन्। सिक्किम राज्य स्थापनाको ५०औं वर्षगाँठको अवसरमा आयोजित प्रतियोगिताको समापन आगामी २ नोभेम्बरको दिन हुनेछ। नशामुक्त अभियान थिममा आयोजित प्रतियोगिताको उदघाटन खेल पाकिम यूनाइटेड भेटरेन्स बनाम फायर वर्ड एससीबीच सम्पन्न भएको थियो।
सो प्रतियोगितामा कूल ३९ टोलीले सहभागिता जनाएका छन्। प्रतियोगिताको विजयी दललाई नगद एकलाख पचास हजार र उपविजयी दललाई एकलाख प्रदान गरिनेछ। उदघाटन कार्यक्रममा वाणिज्य एवं उद्योग विभागकी अध्यक्ष निमछिकी शेर्पा, नाम्चेबुङ जीपीयूकी पञ्चायत अध्यक्ष सकिला राईलगायत अन्य प्रतिनिधिहरूको उपस्थतु थियो।