कालेबुङ: नेपाली साहित्य जगतको प्रतिष्ठित मदन पुरस्कार आज विशेष कार्यक्रमबीच उपन्यास ‘उरमाल’ को लागि आख्यानकार छुदेन काविमोलाई प्रदान गरेको छ। काठमाडौं, ललितपुरमा अवस्थित कमलमणी थिएटरमा मदन पुरस्कार गुठीले पुरस्कार समर्पण समारोहको आयोजना गरेर आख्यानकार काविमोलाई उनको आख्यान “उरमाल” को लागि मदन पुरस्कार प्रदान गरेको हो। पुरस्कार अलंकार समारोहमा प्रा. डा. वीणा पौड्याल, जगदम्बा-श्रीबाट सम्मानित प्रेमदेव गिरी, मदन पुरस्कार गुठी अध्यक्ष कुन्द दीक्षित, उपाध्यक्ष कल्पना पराजुली लगायतका आमन्त्रित अतिथहरू उपस्थित थिए। गुठीका अध्यक्षबाट आख्यानकार काविमोलाई पुरस्कार अर्पण गरिएको थियो। उनलाई प्रशस्ति पत्र, खदा-माला साथै 4 लाख नेपाली नगद राशी प्रदान गरेर पुरस्कार अर्पण गरिएको थियो। मदन पुरस्कारद्वारा सम्मानित उरमालका स्रष्टा छुदेन काविमोले समारोहलाई सम्बोधन गर्दै भने, “साहित्यले जहिले पनि वञ्चित, शोषित र मानवीय कुरासँग सम्बन्ध राख्छ भन्ने कुरामा म सधैं विश्वास गर्छु। त्यही विश्वासकै कारण हो, उरमालमा पनि मैले शोषित र वञ्चितहरूकै पीडालाई लेख्ने कोसिस गरेको छु। यसले मदन पुरस्कार पाउँदा त्यो आवाज अरु मुखर भएको अनुभव मैले गरेको छु। त्यति मात्रै होइन, मदन पुरस्कार गुठीले कसरी विश्वभरि लेखिने नेपाली साहित्यको स्वरलाई सुनिदिन सकेको छ, कसरी एउटा अलग भूगोलको संवेदनालाई आत्मसात् गर्न सकेको छ, त्यसको प्रमाणको रूपमा पनि मैले यसलाई लिएको छु। वर्षोंपछि फेरि एकचोटि पूरै भारतेली नेपाली साहित्य पुरस्कृत भएको आभास यसचोटि मैले गरेको छु।”
साहित्यिक कर्मबारे बोल्दै उनले भने, “साहित्यको काम के हुन्छ? हरेकचोटि लेख्नु अघि म आफैले आफैलाई सोध्ने गर्छु। तब मभित्रको एउटा मान्छे मुसुक्क मुस्कुराउँछ र भनिरहन्छ, ‘मान्छे भित्रको मान्छेलाई बचाइ राख्नु हो।’ हरेक मान्छे भित्र एउटा मान्छे हुन्छ, जो एकदम नादान हुन्छ। उसमा छलकपट हुँदैन। जहिले केटाकेटी मैं लुकामारी खेलिरहन्छ र त्यो मान्छे संसारका हरेक मान्छेभित्र धेरथोर हुन्छै, हुन्छ।
हरेक मान्छेभित्र हुने त्यो अवोध मान्छेलाई कसरी र कसले सधैंभरि बचाइराख्न सक्छ त? त्यो काम केवल साहित्यले मात्रै गर्न सक्छ। त्यही भएर म लेखिरहन चाहन्छु, मैले लेखेको कथाले दुईचार मान्छेभित्रको मान्छेलाई बचाइराख्न सकोस्, म संसारको सबैभन्दा सन्तुष्ट लेखक भइहाल्नेछु।”
मदन पुरस्कार गुठीले उरमालमार्फत् पूरै भारतेली नेपाली साहित्यलाई नै सम्मानित हुने अवसर प्रदान गरेकोमा उनले आभार व्यक्त गरे। उनले तमाम नेपाली पाठकलाई धन्यवाद दिँदै भने, “पाठकहरूले मेरो लेखनीलाई प्रेम दिएर जहिले पनि नयाँ उत्साह थपिरह्यो।”
समारोहमा मदन पुरस्कार गुठी अध्यक्ष कुन्द दीक्षितले सम्बोधन राखेका थिए। आफ्नो सम्बोधनमा उनले दार्जीलिङको साहित्यिक सेरोफेरोलाई सम्बोधन गर्दै भने, “छुदेन काविमोज्यू, यहाँको पुस्तक उरमाललाई मदन पुरस्कारबाट सम्मानित गर्न पाउँदा हामीलाई संसारभर छरिएका नेपाली भाषीसँग जोडिने मौका मिलेको छ। यहाँ म मदन पुरस्कारबाट सम्मानित पारसमणि प्रधानजी, फादर विल्यम बर्कजीलाई सम्झन्छु।” पारसमणी प्रधानलाई मदन पुरस्कार अर्पण गरेको प्रसङ्गबारे सम्झना गर्दै उनले थप भने, “पारसमणिजीलाई २०२७ सालमा मदन पुरस्कार सम्मान अर्पण गर्न दार्जीलिङ पुग्दा म १५ वर्षको थिएँ। रानी जगदम्बा, दादा कमल दीक्षित र आमा अञ्जु दीक्षितसँगै गएर समारोहमा बसेको धमिलो सम्झना बाँकी नैछ।” आख्यान उरमालको विशेषता बारे बोल्दै उनले भने, “छुदेनजी, यहाँको उरमालले ‘चिया’ पछाडिको दुःखको कथा भनेको छ तर विडम्बना हामी त्यही दुःखबाट टुसाएको ‘चिया’ले बाँधिएका छौँ। यहाँको लेखनीले निरन्तरता पाइरहोस्। यहाँको कथा-व्यथाले धर्ती छोइरहोस्। धर्तीप्रति समर्पित सबैमा सम्मान। यहाँलाई बधाई र स्वागत।” नेपाली भाषामा कुराकानी गर्ने, लेख-पढ गर्ने, यसलाई माया गर्ने तथा प्रोत्साहन गर्ने नेपाली र गैर-नेपालीमातृभाषी सबैप्रति उनले हार्दिक आभार व्यक्त गरे।

मदन पुरस्कार समर्पण समारोहकै अवसरमा आज प्रेमदेव गिरीलाई लोकभाका सङ्कलन र संरक्षण तथा लोकवाद्य, सङ्गीत र नाट्य क्षेत्रमा उनले पुर्याएको महत्वपूर्ण योगदानलाई मूल्यांकन गर्दै जगदम्बा, श्री पुरस्कार अर्पण गरिएको थियो। समारोहमा प्रा. डा. वीणा पौड्यालले विद्वद् प्रवचन गरेकी थिइन्। गुठीका उपाध्यक्ष कल्पना पराजुलीबाट धन्यवाद ज्ञापन साथै सभा विसर्जन गरिएको थियो।