झापा: पुलिसको हतियार लुट्ने र हिरासतबाट फरार भएका युवकहरू लागूऔषध ब्राउन सुगरसहित पक्राउ परेका छन्। शनिबार साँझ ५ बजे दमक नगरपालिका – ३ बेलडाँगी भुटानी शरणार्थी शिविरमा ब्राउन सुगरसहित ८ जना पक्राउ परेका छन्। त्यसमध्ये दमक ३ का १८ वर्षीय आदित्य लिम्बू इलाका पुलिस कार्यालय दमकको हतियार लुट्ने र मोरङ मिक्लाजुङ ८ का २० वर्षीय निश्चल पोर्तेल हिरासतबाट भागेका युवक हुन्।
इलाका पुलिस कार्यालय दमकबाट खटिएको पुलिस टोलीले बेलडाँगी भुटानी शरणार्थी शिविर सेक्टर ए ३, हट नं. ३५३ बस्ने साजन थापाको घरमा लागूऔषध बिक्री वितरण गर्दै गरेको सूचनाको आधारमा घर कोठामा खानतलासी गरेको थियो। सोहीक्रममा बिक्रीको लागि तयारी गर्दै गरेको अवस्थामा चस्माको खाली खोलभित्र लुकाई राखेको प्लास्टिकबाट ७ ग्राम ८०० मिलिग्राम ब्राउन सुगर बरामद भएको हो।
पुलिसले लागू औषधसहित दमक ३ बेलडाँगी भुटानी शरणार्थी शिविर सेक्टर ए ३, हट नं. ३५३ का २७ वर्षीय साजन थापा, इलाम चुलाचुली ३ का ३२ वर्षीय दीपेश तामाङ, चुलाचुली ३ का ३२ वर्षीय सनम राई, दमक ३ का १९ वर्षीय पविन विश्वकर्मा, दमक ३ का २५ वर्षीय सुचन दर्जी, बेलडाँगी भुटानी शरणार्थी शिविर सेक्टर बी२, हट नं.१९१–१९२ का २५ वर्षीय विजय माझी र मोरङ मिक्लाजुङ ८ का २० वर्षीय निश्चल पोर्तेललाई पक्राउ गरेको छ ।
लागू औषधसहित पक्राउ पर्ने आदित्य लिम्बू जेनजी आन्दोलनमा प्रहरीको हतियार लुट्ने कार्यमा संलग्न रहेको जिल्ला पुलिस कार्यालय झापाका डीएसपी खगेन्द्र खडकाले जानकारी दिए। त्यस्तै निश्चल पोर्तेल इलाका पुलिस कार्यालय उर्लाबारी मोरङमा लागूऔषध मुद्दामा अनुसन्धानको क्रममा रहेकोमा जेनजी आन्दोलनको क्रममा हिरासतबाट भागी उनी फरार भएको डीएसपी खडकाले बताए।