समाज एकसाथ अघि आएर पैह्रोको प्रकोपबाट पुनर्निर्माणमा निरन्तर कार्य
सोनादा: गत ४ अक्टोबर राती आएको अविरल वर्षाका कारण आएको पैह्रोले सोनादा पचेङ समष्टिको मुण्डाकोठी ग्राम पञ्चायतको फूलबारीको होप टाउन क्षेत्रको धरती नै हल्लाएर लगे पनि स्थानीयहरुको सामुहिक एकता , जोश र जाँगरको कारणले पैह्रोको चोटबाट पुनःनिर्माणतर्फ लम्किरहेको छ। पुनः स्थापित गर्नलाई स्थानीयहरुले रात दिन लगाएर कार्य गरेका छन्। गाउँमा भएको क्षय क्षतिको पुनःनिर्माणको लागि स्थानीयहरु सबैले मिलेर पहल गरिरहेका छन् भने सामुहिक रुपमा मिलेर काम गर्दै पैह्रोले दिएको चोटबाट निस्कने कार्यमा लगातार रुपमा लागिपरेका छन्। यस पैह्रोको प्रकोपबाट गाउँलाई पुनर्निर्माणतर्फ लानलाई गाउँ समाज मिलेर टिम बनाएर कार्य गरिरहेका छन्। गाउँमा आईपरेको दु:ख र पीढालाई सबैले मिलेर सामाधान गर्नेतर्फ हातेमालो गर्दै अघि बढ्ने कार्य गरिरहेका छन्।

सोनादा पचेङ समष्टि अन्तर्गत मुण्डाकोठी ग्राम पञ्चायतको फूलबारी होप टाउन क्षेत्रमा गत ४ अक्टोबरको राती आएको अविरल पानी झरीले पैह्रो गएर एकजना महिलाको मृत्युसहित धेरै घरहरु क्षतिग्रस्त भएको छ। यस समष्टिकाे फूलबारीको होप टाउन क्षेत्रमा पैह्रोले तीनवटा घरहरु पूर्ण रुपमा क्षतिग्रस्त बनेको छ भने गाउँको सबै ७२ घरहरु नै पैह्रोले प्रभावित बनेको बताइएको छ। यसमा यस क्षेत्रमा कतिवटा घरहरु झुण्डिएको अवस्थामा रहेको र कतिवटा घरहरु निक्कै प्रभावित र कतिवटा घरहरु आंशिक रूपमा क्षति भएको बताइएको छ। पैह्रोले प्रभावित परिवारहरुलाई होप टाउनको सार्वजनिक भवनमा राखिएको छ। तर उक्त सार्वजनिक भवन पनि असुरक्षित रहेको स्थानीयहरुले बताएका छन्। यी क्षेत्रको पैह्रो प्रभावित परिवारहरुलाई पुनर्वास गरिनु आवश्यक रहेको देखिएको छ।

पैह्रोले यस क्षेत्रको रोड पनि सबै बन्द भएको थियो भने घरहरु क्षतिग्रस्त, स्कुटी पुरिएको अवस्थामा देखिएको छ। विशेष गरेर तामसिङधुरादेखि फूलबारी होप टाउन हुँदै मुण्डाकोठी जाने रोडको विभिन्न स्थानहरुमा पैह्रोले रोड बन्द रहेको थियो भने स्थानीयहरुको पहलमा चारैतिर गुहार लगाएपछि लगभग ५-६ दिनपछि उक्त रोड खोलाउन सफल बनेको छ। यस रोडको विभिन्न स्थानहरुमा पैह्रोले रोड बन्द रहेको थियो भने स्थानीयहरुको सामुहिक पहल र योगदानले गर्दा १० अक्टोबरदेखि उक्त रोड खोलाउन सक्षम बनेको छ। विशेष गरेर फूलबारीको होप टाउन क्षेत्रमा पैह्रोले क्षति गरेको स्थानहरु र पैह्रो प्रभावित परिवारहरुलाई पुनर्वासको लागि पहल गरिरहेको बताइएको छ। विशेष गरेर उक्त क्षेत्रमा सुकदेव राईको अगुवाईमा पैह्रो प्रभावितहरुलाई सहायता गर्नुको साथै पैह्रोले गरेको क्षय क्षतिमाथि स्थानीयजरुले सामुहिक रुपमा मिलेर काम गरिरहेको जानकारी प्राप्त भएको छ। फूलबारीको होप टाउन क्षेत्रमा पैह्रोले गरेको क्षय क्षति विषयमा पत्रकारहरुसित कुराकानी गर्दै सुकदेव राईले पैह्रोले फूलबारी होप टाउन क्षेत्रमा ठूलो क्षति पुगेको र धेरै घरहरुलाई क्षति गर्नुको साथै एकजनाको मृत्यु भएको जानकारी गराएका छन्। उनले यहाँ तीनवटा घरहरुलाई एकदमै बेसी क्षति गरेको जसको नाम निशान मेटिएर गएको बताएका छन्। राईले यो पैह्रोको कारणले गाउँमा त्रासको माहोल रहेको र पैह्रोले प्रभावित परिवारहरुलाई होप टाउनको सार्वजनिक भवनमा रिलिफ क्याम्पमा राखिएको तर सार्वजनिक भवन पनि सुरक्षित नरहेको बताएका छन्। सुकदेव राईले यस क्षेत्रमा पैह्रोले गरेको क्षतिको सम्पूर्ण विवरण जीटीए प्रमुख अनित थापा, क्षेत्रीय सभासद, सुके पोखरी खण्ड विकास कार्यालय र मुण्डाकोठी ग्राम पञ्चायतलाई पनि जानकारी गराइएको पनि बताए। उनले पैह्रोले दिएको चोटबाट निस्कनलाई समाज नै मिलेर सामुहिक रुपमा टोली बनाएर कार्य गरिरहेको पनि जानकारी गराएका छन्। यस विषयमा पत्रकारहरुसित कुराकानी गर्दै सोनादा पचेङ समष्टिको पूर्व सभासद महेन्द्र प्रधानले यस क्षेत्रमा धेरै घरहरुलाई क्षति गरेको र मुखले भनेर साध्य नहुने तर यही आएर निरीक्षण गरेर हेर्दा मात्र क्षति विषयमा बुझ्न सकिने र निरीक्षण गरेर मात्र होइन तर पिढितहरुलाई समाधान चाहिन्छ भनी बताएका छन्।

उनले पैह्रो प्रभावितहरुलाई बगानसित कुरा गरेर घर निर्माण गरिदिनु पर्ने र यो समयमा बगानमा सबैको हाजिरा पनि लाग्नु पर्ने माग राखेका छन्। उनले यस क्षेत्रको रोड सबै पैह्रोले वाधित बनेको र यस रोड खोलाउन सहयोग गर्ने जीटीए प्रमुख अनित थापा र अन्य सबैलाई धन्यवाद दिएका छन्।