पाकिम: पाकिम जिल्ला प्रशासनिक केन्द्र (डीएसी) र नोमेड भिलेजको संयुक्त तत्वावधानमा याकतेनस्थित डिजिटल नोमेड भिलेजमा आयोजित कोहोर्ट कार्यक्रममा आज लोकसभा सांसद डा. इन्द्र हाङ सुब्बाको विशेष उपस्थिति रहेको थियो। कार्यक्रममा पाकिमका जिल्लापाल रोहन अगवाणेको पनि उपस्थिति रहेको थियो। यसरी नै कार्यक्रममा महाराष्ट्र राज्य वित्त आयोगका अध्यक्ष डा. नितिन करीर (आईएएस) र एल्डर एड वेलनेस तथा फिकसका सह–संस्थापक डा. वन्दना नाडिग नायरलगायतका विज्ञहरूको पनि सहभागिता रहेको थियो।
उल्लेखनीय छ, यस कोहोर्ट कार्यक्रमलाई मुख्यमन्त्रीको “एक परिवार, एक उद्यमी” को उद्देश्यसँग मेल खाने गरी सिक्किमको उद्यमशीलता क्षेत्रलाई सशक्त र ऊर्जावान बनाउन आयोजना गरिएको छ। यस कार्यक्रमले सिक्किमका नवोद्यमी र स्थापित उद्यमीहरूलाई भारतका विभिन्न क्षेत्रका प्रविधि, डिजाइन, बजार व्यवस्थापन, वित्त लगायतका विज्ञहरूसँग जोड्ने उद्देश्य राखेको छ। कार्यक्रम अन्तर्गत सहभागीहरूले सिक्किमका स्थानीय उद्यमीहरूले झेल्न परिरहेका विविध चुनौतीहरूको समाधान गर्न नवप्रवर्तनशील उपायहरू कार्यशाला सत्रमा भाग लिए।
आफ्नो सम्बोधनमा सांसद डा. इन्द्र हाङ सुब्बाले सिक्किमको समृद्ध सांस्कृतिक सम्पदा र कृषि, पर्यटन, जैविक विविधता तथा प्राकृतिक स्रोत व्यवस्थापन जस्ता क्षेत्रमा रहेका सम्भावनामाथि प्रकाश पारे। उनले विभिन्न क्षेत्रका विज्ञहरूलाई सिधै युवा उद्यमीहरूसँग जोड्ने यस पहलको प्रशंसा गर्दै यस्तो सहकार्यले राज्यमा उद्यमशीलता प्रवर्धनमा ठूलो योगदान पुग्ने बताए। साथै उनले प्रत्येक जिल्लामा नोमाड भिलेज र कोहोर्ट कार्यक्रम स्थापना गर्ने सुझाउ पनि दिए।
यसरी नै कार्यक्रमलाई सम्बोधन गर्दै जिल्लापाल अगवाणेले पनि क्षेत्रको उद्यमशील सम्भावनालाई जोर दिँदै स्थानीय उद्यमीहरूलाई प्रोत्साहित गर्ने यस किसिमका कार्यक्रमहरूको प्रशंसा गरे। कार्यक्रममा नवोद्यमीहरूले आफ्ना व्यवसायिक विचार र दीर्घकालीन दृष्टिकोण प्रस्तुत गर्दै सामना गरिरहेका चुनौतीहरूबारे छलफल गरे भने विज्ञहरूले आफ्ना व्यक्तिगत उद्यमी अनुभवहरू साझा गर्दै उद्यमीहरूलाई व्यवसाय सुदृढ र विस्तार गर्न सहयोग गर्ने उपायहरूबारे जानकारी प्रदान गरे।