देन्ताम पीएमश्री स्कूलको शतवार्षिकी उत्सव शुरु

IMG-20251010-WA0141

गेजिङ: गेजिङ देन्ताम पीएमश्री वरिष्ठ माध्यमिक विद्यालयले आफ्नो एकसय वर्षको गौरवशाली शताब्दी उत्सव आजदेखि भव्य र सांस्कृतिक रौनकका साथ प्रारम्भ गरेको छ। उद्घाटन समारोहका मुख्य अतिथि सिक्किम सरकारका शिक्षा, खेलकुद तथा कानुन विभागका मन्त्री राजु बस्नेत रहेका थिए। उद्घाटन सत्रमा मन्त्री बस्नेतले विद्यालयको सयौं वर्षको यात्रालाई “इतिहासको गर्विलो अध्याय” भन्दै शुभकामना व्यक्त गरे। “शताब्दी आफैंमा एउटा युग हो, यसको महत्व बुझ्दै सबैले भव्य र सभ्यरूपमा मनाउनु आवश्यक छ” मन्त्री बस्नेतले भने। उनले एसकेएम सरकारले शिक्षालाई पहिलो प्राथमिकतामा राखेको उल्लेख गर्दै गरीब परिवारका बालबालिकासमेत डाक्टर, इन्जिनियर वा पाइलट बन्ने सपना पुरा गर्न सक्ने अवस्था सिर्जना भएकोमा दाबी गरे। शिक्षित बेरोजगार युवाहरुलाई स्वरोजगार र व्यवसायिक आत्मनिर्भरतातर्फ उन्मुख गराउन सरकारले निरन्तर सहयोग गरिरहेको जानकारी दिए। कार्यक्रमको प्रारम्भमा विद्यालय व्यवस्थापन समितिले मुख्य अतिथि मन्त्री बस्नेतलाई सम्मान गरेको थियो। यसबीच विभिन्न विद्यालयका विद्यार्थीहरूले प्रस्तुत गरेका सांस्कृतिक कार्यक्रमहरूले उपस्थित दर्शकलाई मन्त्रमुग्ध बनाएका थिए। समारोहमा गेजिङ जिल्ला पञ्चायत उपाध्यक्ष अनिता राई, शिक्षक नियुक्ति बोर्डका सदस्य जीआर खुलाल, मिल्क यूनियन सल्लाहकार पूर्णहाङ सुब्बा, क्षेत्रीय सभापति डीएन शेर्पा, विद्यालयका प्रिन्सिपल राज्य लिम्बू लगायत शिक्षक-शिक्षिका, विद्यार्थी र स्थानीय नागरिकहरूको सहभागिता रहेको थियो। शताब्दी उत्सवलाई थप आकर्षक बनाउन आयोजक समितिले खुल्ला लातेभकुण्डो प्रतियोगिता आयोजन गरेको छ। यसअन्तर्गत पुरुष वर्गको विजेता टिमलाई ३ लाख, उपविजेतालाई २ लाखसहित ट्रफी प्रदान गरिनेछ। उक्त ट्रफीको प्रायोजन “द हेल्थ मार्ट देन्ताम” ले गरेको हो। पहिलो म्याचमा मेघा ब्वाइज कर्मटारले हियुमा ब्वाइज क्लबलाई ३-१ को गोलअन्तरले पराजित गर्दै अघिल्लो चरणमा प्रवेश गरेको छ। यस अवसरमा विभिन्न संघ संस्थाहरुलाई पनि सम्मान जनाएको थियो। देन्ताम विद्यालयको शताब्दी उत्सव आगामी १८ अक्टोबरसम्म चल्नेछ। जसमा विभिन्न शैक्षिक, सांस्कृतिक र खेलकुद कार्यक्रमहरू सञ्चालन हुनेछन्। सय वर्षको ऐतिहासिक यात्रालाई उत्सवको रूपमा रूपान्तरण गरेको देन्ताम विद्यालयले सिक्किमकै शैक्षिक इतिहासमा आज फेरि एक सुनौलो पाना थपेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement