पाकिम: स्वास्थ्य एवं परिवार कल्याण विभागअन्तर्गत आयुष विभागले आज पाकिम जिल्ला अन्तर्गत नाम्चेबुङ ग्राम प्रशासन केन्द्रमा विश्व मानसिक स्वास्थ्य दिवस पालन गऱ्यो। कार्यक्रममा पाकिम जिल्लाका अतिरिक्त जिल्लापाल साङ्गे ग्याछो भोटिया मुख्य अतिथिका रुपमा उपस्थित थिए। कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा मुख्य अतिथि भोटियाले जिल्लामा मानसिक स्वास्थ्यसँग सम्बन्धित विषयहरूमाथि प्रकास पार्दै मानसिक स्वास्थ्य सेवा ऐन, २०१७ को प्रावधानबारे जानकारी गराए। उनले मानसिक स्वास्थ्य शारीरिक स्वास्थ्य जत्तिकै महत्त्वपूर्ण रहेको हुनाले यसमाथि समुदायलाई सचेत गराउनु पर्ने जोड दिए। सोही प्रकारले प्रमुख चिकित्सा अधिकारी डा. मदनमणि ढकालले सहभागीहरूलाई मानसिक स्वास्थ्य र सिक्किमले गरिरहेका बढ्दो चुनौतीबारेमा जानकारी गराए। उनले मानसिक स्वास्थ्य एक नदेखिने घाउजस्तै र जसले गहिरो पीडा निम्त्याउने बताए। मानसिक स्वास्थ्य समस्याहरूलाई लिएर आममानिसहरूमा व्यापक गलत धारणा रहेको उल्लेख गर्दै यस कलंकलाई हटाउनुपर्ने सुझाउ दिए। डा. ढकालले उपलब्ध स्रोतहरू र सहयोग प्रदान गर्न सल्लाहकारहरूको भूमिकाबारेमा पनि छलफल गरे। उनले मानसिक स्वास्थ्य चुनौतीहरूको सामना गर्न सामुहिक सहभागिताको महत्वमाथि प्रकास पारे। उनले मानसिक र भावनात्मक स्वास्थ्यसँग सम्बन्धित समस्याहरु साथै सामाजिक र व्यक्तिगत कारकहरूमाथि प्रकास पारे।