मनसोंग सिन्कोना बगानको रम्फु विभागमा सुनखरी खेती फस्टाउँदै, पर्यटक आकर्षणको केन्द्र बन्ने प्रबल सम्भावना

IMG-20251010-WA0122

खरसाङ: सिन्कोना बगान अन्तर्गत मनसोंगको रम्फु विभागमा गरिएको सुनखरी (अर्किड) खेती हाल अत्यन्त सफल हुँदै देश–विदेशका पर्यटकहरूको ध्यान आकर्षित गर्न थालेको छ।
सिन्कोना तथा अन्य औषधीय वनस्पति निर्देशनालयका निर्देशक डा. सामुएल राईको पहल र निर्देशनमा शुरु गरिएको यो परियोजनाले छोटो समयमा नै उत्कृष्ट परिणाम देखाएको छ।
मङपु हेडक्वार्टरका व्यवस्थापक गोपाल लामीछाने र मनसोंग सिन्कोना बगानका व्यवस्थापक नयन थापाले रम्फु विभागस्थित सुनखरी गार्डन र हटहाउसको स्थलगत निरीक्षण गरी यसको प्रगति प्रत्यक्ष अवलोकन गरेका छन्। व्यवस्थापक नयन थापाका अनुसार, कटिङ डेनड्रोबियम प्रजातिको सुनखरी फुल सरकारद्वारा तोकिएको मूल्यअनुसार प्रतिफूल रु. २० मा बिक्री भइरहेको छ, भने अन्य प्रजातिका सुनखरीहरू पनि आफ्ना–आफ्नै मूल्यमा सहजै उपलब्ध छन्। रम्फु सुनखरी हटहाउसभित्र हाल डेनड्रोबियम, केटालिया, मोक्रा र भ्यान्डा प्रजातिका गरी जम्मा ४१,२९२ वटा सुनखरीका बिरुवा फस्टाइरहेका छन्। विभिन्न रंग र रूपका फुलेका सुनखरीहरूले हटहाउसलाई रंगीन स्वर्गझैं सुशोभित बनाएका छन्।
सिन्कोना विभागका अधिकारीहरूका अनुसार रम्फु सुनखरी हटहाउसलाई भविष्यमा पर्यटकहरूको लागि आकर्षक फ्लोरल टुरिज्म स्पटका रूपमा लिनु सकिन्छ,यसरी इच्छुक नागरिकहरूले यहाँबाट प्रत्यक्ष रूपमा सुनखरी फुल खरिद गर्न सक्ने व्यवस्था पनि गरिएको छ।
ग्याङम्यान प्रतिक शेर्पाका अनुसार, सन् २०२४ देखि सुरु गरिएको यो परियोजनाबाट अहिलेसम्म फुल बिक्रीमार्फत करिब एक लाख रुपियाँ कर राजस्व सरकारलाई बुझाइसएको जनाएको छ। उनका अनुसार श्रमिकहरू सोल्बीन राई, सन्देश शेर्पा, सुदीप तामाङ र अन्य सहकर्मीहरूको निरन्तर परिश्रमले रम्फु केन्द्रमा फरवरीदेखि नोभेम्बरसम्म, वर्षको करिब १० महिना निरन्तर उत्पादन र फूलफुलाउने कार्य सम्भव भएको हो।
सुनखरी खेतीको यस सफलताले न केवल स्थानीय रोजगारी र आम्दानीमा योगदान पुर्‍याएको छ, तर रम्फुलाई हरियाली र सुन्दरता घुलिएको नयाँ पर्यटन गन्तव्यका रूपमा परिचित गराउन समेत टेवा पुर्‍याइरहेको छ। यस सुन्दर कार्यको निम्ति सिन्कोना बगान निर्देशक डा.सामुएल राई, मनसोङ सिन्कोना बगान ब्यवस्थापक डा. नयन थापा अनि मङपूका हेडक्वाटर ब्यवस्थापक गोपाल लामीछानेलाई सिन्कोनाबासीले आभार व्यक्त गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement