गेजिङ: सिक्किम सरकार, श्रम विभागको ‘आँगनमा प्रशासन’ अभियानअन्तर्गत आज गेजिङस्थित सामुदायिक भवनमा एक शिविर तथा श्रमिक जागरुकता कार्यक्रम सम्पन्न भयो। सिक्किम श्रम अधिनियम २०२१ अन्तर्गत आयोजित कार्यक्रमको अध्यक्षता गेजिङका जिल्लापाल तेञ्जिङ डी. डेञ्जोङपाले गरेका थिए। साथमा, पुलिस अधीक्षक छिरिङ शेर्पा विशिष्ट अतिथिका रुपमा उपस्थित थिए।
उल्लेखनीय छ, गेजिङ जिल्ला श्रम कार्यालयले सिक्किम श्रम ऐन, २०२१ अनि भवन तथा अन्य निर्माण श्रमिक ऐन, १९९६ अन्तर्गत ‘आँगनमा प्रशासन’ मार्फत १२ सेप्टेम्बरदेखि २५ सेप्टेम्बरसम्म जिल्लाका सबै जीपीयूमा विशेष दर्ता शिविर तथा निरीक्षण शुरु गरेको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै जिल्लापाल डेञ्जोङपाले श्रम विभागअन्तर्गतका योजनाहरूको प्रभावकारी कार्यान्वयन भइरहेकोमा सन्तोष व्यक्त गर्दै विभागका अधिकारी तथा कर्मचारीहरूको कामप्रति खुसी व्यक्त गरे। अवैध रूपमा व्यापार सञ्चालन गर्नेहरूमाथि निगरानी गरी आवश्यक कारवाही गरिने बताए। उनले राज्यबाहिरबाट व्यापार व्यवसाय गर्न आउनेहरूले स्थानीय नियम कानूनको पालना गरी अनुशासित रूपमा काम गर्ने जोड दिए। बालबालिकालाई श्रममा संलग्न गराउनु गैरकानुनी रहेको बताउँदै यस्तो कार्यमा संलग्न पाइएमा कडा कारबाही हुने चेतावनी पनि दिए। जिल्लामा सरसफाइको महत्त्वलाई समेत जोड़ दिए। श्रम विभागीय अधघिकारी वाईएन राणाले सम्बोधन गर्दै ‘आँगनमा प्रशासन’ पहलको उद्देश्यबारे जानकारी गराए। उनले समाजमा श्रमिकहरूको योगदान उच्च रहेको बताए। भवन तथा अन्य निर्माणमा संलग्न मजदुरको पञ्जीकरण प्रक्रिया र सिक्किम श्रम अधिनियम २०२१ का प्रमुख प्रावधानहरूबारे प्रकाश पारेका थिए। उनले गेजिङ जिल्लाका ३३ वटा ग्राम पञ्चायत एकाइमा यस्ता कार्यक्रम सम्पन्न भइसकेको जानकारी दिए। श्रमिकहरूका लागि लेबर कार्ड अनिवार्य रहेको र यसको आवेदन प्रक्रियाबारे स्पष्ट पारे। पुलिस अधीक्षक शेर्पाले विदेशी श्रमिकहरूले राज्यमा काम गर्नअघि अनिवार्य रूपमा इनर लाइन पर्मिट लिनुपर्ने र चेकपोस्टहरूमा आवश्यक दर्ता प्रक्रिया पूरा गर्नुपर्ने जानकारी दिए। कार्यक्रममा खुल्ला विमर्श पनि गरिएको थियो। कार्यक्रममा गेजिङ नगर पञ्चायत अध्यक्ष देवेन्द्रप्रसाद शर्मा, एमईओ गोपाल शर्मा, आरटीओ आरएच सुब्बा, खण्ड विकास कार्यालयका अधिकारी, अभियन्ताहरू तथा श्रमिकहरूको सहभागिता रहेको थियो।